काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रिय कायसमितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्यसमितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा असन्तुष्टि पोखेका हुन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले बुढानिलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा केन्द्रिय कार्यसमितिको बैठक बोलाएकोमा आपत्ति जनाए।
सिंहले भने, ‘पार्टी केन्द्रिय कार्यसमितिको बैठक पार्टी सभापतिको घरमा बस्छ, कार्यालयमा राख्नुपर्यो नि बैठक। भवनको के काम बैठक नबस्ने भए? बूढानिलकण्ठ हामीले नदेखेको हो र भन्या? उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी त्यहाँ बुढानिलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौं नि त।’
नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनीसमेत दिए। उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने अडान राखे। नेता सिंहले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रिय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिए।
नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गरे। उनले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नुपरेको तर्कसमेत गरे। उनले पार्टी नेतृत्वले अव महाधिवेशन सार्ने अवस्था भने नरहेको बताए।