काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले संयन्त्रको आयु न लामो, न छोटो भएको प्रतिक्रिया दिएका छन्। कांग्रेस बैठकबाट बाहिरिने क्रममा नेता पौडेलले यस्तो बताएका हुन्।
कांग्रेस बैठकमा राजनीतिक संयन्त्रको आयुबारे प्रकाशमान सिंहले प्रश्न उठाएपछि सभापति देउवाले माघमा हुने राष्ट्रिय सभा चुनावसम्मका लागि संयन्त्र भएको बताएका थिए। यसै विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै नेपा पौडेलले भने अस्पष्ट जवाफ दिएका हुन्।
'संयन्त्र त छोटो समयका लागि बनेको रे नि त?,' सञ्चारकर्मीको जिज्ञासा थियो। यसपछि छोटो प्रतिक्रिया दिँदै भने, 'छोटो न लामो।'
यसअघि बैठकका क्रममा सिंहले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषय उठाएका थिए। संयन्त्रप्रति चित्त नबुझाएका उनले सभापति देउवाको धारणा मागेका थिए, 'गठबन्धन सरकारको गतिविधिको लेखाजोखा चुनावमा हुन्छ। उच्चस्तरीय संयन्त्र किन बनाएको? गठबन्धनको सरकार तपाईंले लिड गर्नु भा छ, किन चाहियो संयन्त्र? कम्युनिस्टको दबाबमा गरेको भन्ने छ नि?'
यसपछि देउवाले समन्वय गर्नका लागि बनाइएको बताए। 'स्पष्टीकरण चाहनुभएको हो? समन्वय गर्नलाई बनाइएको हो। लामो होइन राष्ट्रिय सभा निर्वाचनसम्मका लागि,' देउवाले भने।
तर प्रकाशमानले चित्त बुझाएनन्। 'आउने चुनाव तालमेल हुन्छ भन्ने आएको छ नि त!,' सिंहले भनेका थिए।
यसपछि देउवाले राष्ट्रिय सभा निर्वाचनपछि पनि सरकार रहने भएकाले आम चुनावसम्म मिलेर लड्ने कि नलड्ने कुरै नभएको बताएका थिए। 'यहाँ सुन्नुस् एमाले र माओवादी फुटेका छन्। त्यस्तो निर्णय भएको छैन। ओली र प्रचण्ड मिलेर सबै हारेको होइन। तपाईं एक्लै लड्ने भए लड्नुस् यसअघि पनि लडेकै हो। निर्णय भैसकेको छैन के बाबा!'