काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच चर्काचर्की चलेको छ।
प्रकाशमानले प्रदेश २ मा देखिएको समायोजनमा विषय उठाएका थिए। 'क्रियाशीलमा मनपरी भएको छ। सभापतिले समधान गर्छु भन्छु भन्नुहुन्छ तर भइरहेको छैन,' उनले भनेका थिए।
यसपछि देउवाले क्रियाशील विवाद समाधान भइरहेको दाबी गरेका थिए।
तर प्रकाशमानले महाधिवेशनका बेला कार्यकर्ताले न्याय खाजेको र मिटिङमा सभापतिले प्रतिवद्धता गरेका विषयमा पनि समाधान नभएको गुनासो गरेका थिए।
उनले न्यायालयका विषयमा कांग्रेसले मुख खोल्नुपर्ने धारणा राखेका थिए। 'न्यायालयका स्वतन्त्र हुनुपर्छ भन्ने। तर सरकार र पार्टी केही नबोली बस्ने भन्ने कुरा हुँदैन। हामी नबोली बस्न हुँदैन। जनताले न्याय पाएका छैनन्, सरकारको धारणा ल्याउनुपर्छ,' उनले भनेका थिए।
उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषय पनि उठाएका थिए। संयन्त्रप्रति चित्त नबुझाएका उनले सभापति देउवाको धारणा मागेका थिए, 'गठबन्धन सरकारको गतिविधिको लेखाजोखा चुनावमा हुन्छ। उच्चस्तरीय संयन्त्र किन बनाएको? गठबन्धनको सरकार तपाईंले लिड गर्नु भा छ, किन चाहियो संयन्त्र? कम्युनिस्टको दबाबमा गरेको भन्ने छ नि?'
यसपछि देउवाले समन्वय गर्नका लागि बनाइएको बताए। 'स्पष्टीकरण चाहनुभएको हो? समन्वय गर्नलाई बनाइएको हो। लामो होइन राष्ट्रिय सभा निर्वाचनसम्मका लागि,' देउवाले भने।
तर प्रकाशमानले चित्त बुझाएनन्। 'आउने चुनाव तालमेल हुन्छ भन्ने आएको छ नि त!,' सिंहले भनेका थिए।
यसपछि देउवाले राष्ट्रिय सभा निर्वाचनपछि पनि सरकार रहने भएकाले आम चुनावसम्म मिलेर लड्ने कि नलड्ने कुरै नभएको बताएका थिए। 'यहाँ सुन्नुस् एमाले र माओवादी फुटेका छन्। त्यस्तो निर्णय भएको छैन। ओली र प्रचण्ड मिलेर सबै हारेको होइन। तपाईं एक्लै लड्ने भए लड्नुस् यसअघि पनि लडेकै हो। निर्णय भैसकेको छैन के बाबा!'