काठमाडौं- नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा ४-५ जना महामन्त्री थप्न आफू तयार भएको बताएका छन्। केन्द्रीय सदस्य गोविन्द भट्टराईले खुला सहमहामन्त्री थप्न प्रस्ताव गरेपछि सभापति देउवाले यस्तो बताएका हुन्।
भट्टराईको प्रस्तावपछि देउवाले अरु नेताहरूले मानेपनि रामचन्द्र पौडेल पक्षले त्यसलाई स्वीकार नगर्ने भएकाले त्यसो गर्न नसकिने समेत उल्लेख गरेका थिए।
'प्रस्ताव सबैले मान्छन् भने सहमहामन्त्री ४-५ जना थपौँ। रामचन्द्रले मान्दैन, मैले मानेको छु,' भट्टराईतर्फ हेर्दै देउवाले भनेका थिए।
यसपछि भट्टराईले सह-महामन्त्रीमा कलस्टरबाट मात्र नभएर खुलाबाट थप गर्न जोड गरेका थिए। 'सह-महामन्त्री थपौँ मेरो समर्थन छ। रामचन्द्र मान्दैन म के गरौँ,' देउवाले पुरानै कुरा दोहोर्याए।
यसपछि सहमहामन्त्री थप गर्ने प्रस्तावलाई केन्द्रीय समितिमा लगेर भोटिङबाट निर्णय गर्न सुझाएका थिए। तर देउवाले उही कुरा तेहर्याए, 'रामचन्द्रले मान्दैन क्या। म फेरी बैठक बोलाउछु क्या। छिटो गरौँ, छिटो क्या।'
अहिले कांग्रेसमा क्लस्टरका आधारमा मात्र सहमहामन्त्री हुने व्यवस्था छ।