काठमाडौं- नेपाली कांग्रेसले प्रदेशमा अधिवेशन गर्नका लागि केन्द्रीय नेताहरू खटाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश अधिवेशन भने १६ र १७ गते प्रदेश राजधानीमा हुनेछन्। यसका लागि ७ नेतालाई जिम्मा दिइएको छ। प्रदेश १ को जिम्मा कृष्ण सिटौलाले पाएका छन् प्रदेश २ मा रमेश रिजालले महाधिवेशन गराउने छन् भने बागमतीमा प्रकाशमान सिंहले अधिवेशन गराउने छन्। यस्तै गण्डकीमा गोपालमान श्रेष्ठ खटाइएका छन् भने लुम्बिनीका लागि बालकृष्ण खाँड छन्। कर्णालीमा जीवन शाहीले महाधिवेशन गराउनेछन् भने सुदूरपश्चिममा दिलेन्द्र बडु खटिनेछन्।
महाधिवेशनका लागि मतदानका लागि मंसिर २१ गते मनोनयन दर्ता गरिने र २४ गते उद्घाटन २५ गते मतदान गर्न प्रस्ताव गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
यस्तै यस वर्षको महाधिवेशनका नेतृत्व चयनमै फोकस हुने तर महाधिवेशनपछिको केन्द्रीय समितिले नीतिगत विषयमा छलफल गर्ने उनको भनाइ छ।
बैठकमा महाधिवेशन व्यवस्थापनका विषयमा छलफल भइरहेको उनले जानकारी दिए। बैठकले देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिए। समितिमा केन्द्रीय सदस्यका साथै र सांसदहरू सदस्य रहेनेछन्।
यस्तै महाधिवेशनको आर्थिक व्यवस्थापनका लागि आर्थिक समिति गठन गरिएको छ। यसका संयोजक ज्ञानेन्द्र कार्की छन्।
प्रचार समितिमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। यस्तै मन्च व्यवस्थापनमा उपत्यकाका तीन जिल्लाका सभापति सदस्य रहने गरी काठमाडौं जिल्ला सभापतिलाई जिम्मेवारी दिइएको छ।
भोजन व्यवस्थापनको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् भने विदेशी पाहुन व्यवस्थापनको जिम्मा प्रकाशशरण महतलाई दिइएको छ। स्वास्थ्य समिति संयोजक मोहन बस्नेत छन् भने सीता गुरुङलाई सांस्कृतिक पक्ष व्यवस्थापनको संयोजक बनाइएको छ।
मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन ६ गते संघीय क्षेत्र अधिवेशन र १० जिल्ला अधिवेशन गर्ने समेत कांग्रेसको प्रस्ताव छ।