अछामबाट कामको खोजीमा भारत जाने आफन्तलाई बिदाइ गर्न मंगलसेन बसपार्कमा जम्मा भएका आफन्तजन । तस्बिर : शिवराज खत्री/नेपाल समय
धनगढी- अछाम साँफबेगर-४ का ४८ वर्षीय मनिराज कुँवर केही समय घर बसेर पुनः कामका लागि भारत फर्किए । २६ चैत ०६९ मा घर छाडेका उनी त्यसयता बेपत्ता छन् । उनी न नोकरी गरिरहेको ठाउँमा पुगेका छन्, न त घरै फर्केका छन् ।
'एक सातापछि गाउँलेलाई फोन गर्दा उता नपुगेको खबर पायौं,' श्रीमती पद्मा भन्छिन्, 'अर्कै ठाउँमा जानुभयो कि जस्तो लाग्यो तर अहिलेसम्म अत्तोपत्तो छैन ।'
श्रीमान् टुप्लुक्क घर आइपुग्ने आशामा उनले बाटो हेरेको पनि ६ वर्ष बितिसकेको छ । कतैबाट सहयोग पाए बेपत्ता पति फेला पर्ने आशा मारेकी छैनन्, अझै ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भारतमा काम खोज्न जानुपर्ने अवस्थाको अन्त्य गर्ने अभिव्यक्ति दिएका थिए । पद्मा भने पहिले बेपत्ता परिवारजनको खोजीमा प्रदेश सरकार लागिदिए आफूहरूले राहत पाउने बताउँछिन् । मुख्यमन्त्री आफैंले लामो समय भारतमा काम गरेकाले आफ्ना पति खोज्न सहयोग गर्न सक्ने उनलाई लागेको छ ।
रोजगारीमा गएर नफर्किने कुँवर एक्ला होइनन् । साँफेबगर-९ का मीनबहादुर रावल १७ साउन ०६८ देखि बेपत्ता छन् । त्यतिबेला ४५ वर्षका उनले भारतमै करिब २० वर्ष बिताएका थिए । घर फर्किंदै गरेको जानकारी दिन परिवारलाई फोन गरेका उनी अहिलेसम्म आइपुगेका छैनन् ।
'अब त बाटो हेर्दा-हेर्दा थाकिसक्यौं,' श्रीमती वसुन्धरा भन्छिन्, 'पहिले काठमाडौंसम्म गएर सरकारलाई भन्न सकिएन, अब सरकार धनगढीमै बनिसकेको छ । खोज्न पहल गरिदिए हुन्थ्यो ।'
२०५१ देखि ०७१ सालसम्म अछामको साँफेबगरका मात्र ६१ जना भारत आउजाउका क्रममा बेपत्ता, खोजी गर्न सरकारी बेवास्ता ।
साँफेबगर-८ चण्डिकाका पुरन कुँवर ०६५ सालमा बहिनीको उपचारका लागि भारतमा रहेका ज्वाईंसम्म पुर्याउन घरबाट हिँडेका थिए । राजस्थानको गोद्रा भन्ने ठाउँमा पुग्दा रेलमा ३/४ जना भारतीय युवासँग पुरनको भनाभन भयो । त्यसको कारण थियो, साथमा रहेकी बहिनीलाई ती युवाले दुव्र्यवहार गर्न खोज्नु ।
बहिनीलाई कोठीमा बिक्री गर्न लाँदै गरेको बताउँदै छेडखानी गर्न थालेपछि उनलाई असह्य भयो र पुरनले गाली गरे । रेल रोकिनासाथ ती युवाले तानेर उनलाई बाहिर पुर्याए । दुई दिनपछि उनको शव टुक्रा-टुक्रा पारेको अवस्थामा नजिकै गाउँमा भेटियो ।
साँफेबगर-१० का पुरन भाट आफ्ना काकासँग कामको खोजीमा भारत जाँदै थिए । पेट दुखेपछि गोद्रा भन्ने ठाउँमा झरेलगत्तै प्रहरीले उनलाई समातेर लग्यो । २६ जेठ ०६६ मा प्रहरीले लगेका उनको अहिलेसम्म अत्तोपत्तो छैन ।
बाबुआमा, श्रीमती र सन्तानको नांगो आङ ढाक्ने एकसरो लुगाफाटो किन्न र घरखर्च चलाउनका लागि कमाउन भारत पुग्ने चलन धेरै पुरानो हो । काम गर्ने ठाउँमै या घर आउजाउ गर्ने क्रममा बीच बाटोमै बेपत्ता हुनेहरूको संख्या ठूलो छ, जसको यकिन आँकडा कहीं कतै भेटिँदैन ।
प्रवासी सञ्जाल अछामले हरेक घरमा पुगेर संकलन गरेको तथ्यांकअनुसार साँफेबगरका मात्र ६१ जना भारत आउजाउका क्रममा बाटोबाटै बेपत्ता भएका छन् । उनीहरूमध्ये तीन जनाबाहेक सबै विवाहित थिए ।
सञ्जालले ०५१ देखि ०७१ सालसम्म बेपत्ता भएकाहरूको नाम, ठेगाना, उमेर र बेपत्ता भएको मिति संकलन गरेको छ । 'यो तथ्यांक साँफेबगरको मात्र हो,' सञ्जालका अध्यक्ष मिठु भाट भन्छन्, 'पूरै जिल्लाको तथ्यांक संकलन गर्दा यो संख्या पाँच गुणाले बढ्छ होला ।'
सञ्जालले चार वर्षअघि नै विस्तृत विवरणसहित संकलित तथ्यांक जिल्ला प्रशासनलाई बुझाएको छ । तर, अहिलेसम्म प्रशासनबाट कुनै पहल भएको नपाइएको अध्यक्ष भाट बताउँछन् । जिल्ला प्रशासनले भने संकलित तथ्यांक गृह मन्त्रालयमा पठाइएको बताएको छ । मन्त्रालयबाट के पहल भयो भन्ने कुनै जानकारी नआएको प्रशासनको भनाइ छ ।
किन पारिन्छ नेपालीलाई बेपत्ता ?
खुला सिमानाका कारण अनुमति, निश्चित योग्यता, उमेर र समयबिना नै नेपाली नागरिक भारत आउजाउ गर्छन् । त्यसक्रममा भारतीय प्रहरी, टाँगा, रिक्सा, बस, रेल तथा गुण्डाहरूबाट अनेक कष्ट बेहोर्नुपर्छ ।
धेरै पैसा बोकेको, धेरै सामान ल्याएको तथा परिचय खुल्ने कागजात नबोकेको निहुँमा सताइन्छन्, उनीहरू । 'यो या त्यो बहानामा नेपालीबाट जसरी पनि पैसा झार्ने उद्देश्यले गुण्डादेखि प्रहरीसम्मले दुःख दिन्छन्,' सञ्जालका अध्यक्ष भाट भन्छन्, 'भनेजति पैसा नदिई विवाद गर्न लागेमा कुटिने, लुटिने, बेपत्ता पारिने र मारिने सम्भावना धेरै हुन्छ ।'
'भारतीय प्रहरी, टाँगा, रिक्सा, बस, रेल तथा गुण्डाहरूलाई भनेजति पैसा नदिई विवाद गर्न लागेमा कुटिने, लुटिने, बेपत्ता पारिने र मारिने सम्भावना धेरै हुन्छ ।'
भारतका केही ठाउँमा किड्नी निकालेर मानिसको हत्या गर्ने गरिएको सुन्नमा आएकाले बेपत्ता पारिएका अधिकांश नेपालीको पनि त्यसरी नै हत्या भएको आशंका उनको छ । त्यसरी किड्नी निकालेर हत्या गर्ने काम राजस्थानको गोद्रा आसपासमा धेरै हुने गरेको उनी बताउँछन् । साँफबगरका अधिकांश युवा पनि गोद्रा आसपासमै बढी बेपत्ता भएको पाइन्छ ।
सरकारले भारतलाई वैदेशिक रोजगारीको गन्तव्यका रूपमा कानूनी मान्यता दिएको छैन । सोही कारण नेपाली नागरिकले भारतमा अनेक कष्ट बेहोर्नुपर्दा उनीहरूका पक्षमा बोलिदिने कोही छैन ।
भारतमा काम गर्दा न बीमाको व्यवस्था छ, न त ज्यान गुमाउँदा क्षतिपूर्ति नै पाउँछन् । प्रदेश-६ र ७ का अधिकांश पहाडी जिल्लाबाट भारत नै एक मात्र रोजगारीको गन्तव्य बनेको छ । पहाडी जिल्लाका करिब ७० प्रतिशत पुरुष कामको खोजीमा भारत पुग्छन् ।
सरकारले फागुन ०७४ मा भारतमा नोकरी गर्नुलाई पनि वैदेशिक रोजगारीका रूपमा मान्यता दिने निर्णय गरे पनि कार्यान्वयन नभएको प्रवासी सञ्जालका सचिव लालबहादुर रावत बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४