काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको विवादका विषयमा कुनै छलफल नभएको नेता एनपी साउदले बताएका छन्। कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता साउदले यस्तो बताएका हुन्।
'अदालतको विषयमा आज छलफल भएन। अदालतको विवाद अदालतले नै समाधान हुनुपर्छ भन्ने कांग्रेसको संस्थागत मान्यता हो,' उनले भने।
अदालतमा भइरहेका गतिविधिले आस्थामा आघात परेको उनको भनाइ थियो। 'अदालतको विवादको विषययले कांग्रेसलाई चिन्तित छ,' उनले थपे, 'अदालतका विषयमा प्रतिक्रिया दिनु राम्रो हुँदैन। आन्दोलनकारी साथीहरूले बोलिदिनुपर्छ भन्नु भएको छ। तर समधान अदालतले गर्नुपर्छ।'
उनले अब पनि महाधिवेशन नहुने हो कि भन्ने कुरामा आशंका नगर्न आग्रह गरेका थिए। सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाएको र उपसमिति बनाइसकेकाले महाधिवेशन हुनेमा ढुक्क नहुन आग्रह गरे।
न्यायालयको विवादमा दलहरूले मौनता साँधिरहेका छन्। नागरिक समाजका अगुवाहरूले भने दलहरूको मौनताले विवाद लम्ब्याएको बताइरहेका छन्।