धनगढी- नेपाली कांग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि भइसकेको पुराना नेता आनन्दराज जोशी वडामै पराजित भएका छन्।
शनिबार सम्पन्न भएको अधिवेशनबाट उनी धनगढी उपमहानगरको वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका हुन्।
१४ जना खुला प्रतिनिधिका लागि भएको निर्वाचनमा जोशीले १३७ मत पाएका थिए। गएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार डाक्टर आर्जु राणा ‘देउवा’ लाई असहयोग गरेको र नेता पुष्करनाथ ओझा निकट भएको भन्दै उनलाई हराइएको बताइएको छ।
३२ सदस्यीय वडा समिति सहित सभापति पदमा प्रकाश विष्ट निर्विरोध निर्वाचित भएका थिए।
महिला, दलित, खस आर्यलगायतका आरक्षित सिटमा पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका थिए।
चार सय १५ मतदाता रहेको वडामा तीन सय ४७ मत खसेकोमा २६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
उता, धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मा चिट्ठामार्फत वडा सभापतिको चयन भएको छ।
वडा नम्बर ६ को वडा सभापतिका लागि गजैसिंह देउवा र धिरेन्द्र शाहीबीच भएको गोलाप्रथाबाट शाही वडा सभापतिमा चयन भएका हुन्।