शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपालले भने- गठबन्धन टुट्ने आशंका नपाल्नुस्

कार्यकर्तालाई सम्बोधन गर्दै माधव नेपालले भने- गठबन्धन टुट्ने आशंका नपाल्नुस्

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। 

अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको र त्यसले गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दावी समेत गरेका हुन्। 

सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, 'सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरुलाई जवाफ दिने गरी हामीले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेका छौँ। पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमति गरेको छ।'

माघमा हुने राष्ट्रियसभाको चुनाव, प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भएको उनको भनाइ छ। 'यो सहमतिले गठबन्धनको आयू लामो छैन र यिनीहरुबीचको एकतालाई तोडन सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन्। हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस्,’ नेपालले भने। 

अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गरे। 

कार्यक्रममा बोल्दै नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए। उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका थिए। 

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ-आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गरेका थिए। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित: Nov 13, 2021| 19:26 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...