काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) नेकपा (एस)ले मार्गनिर्देशक सिद्धान्त मान्न नसकिने बताएका छन्।
शनिबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शन बनाएर समाजवादी क्रान्तितर्फ लाग्नुपर्ने बताएका हुन्।
‘स्वरुपमा जति धेरै जनवाद जन्मिएपनि सारमा सबै जनताको बहुदलीय जनवाद हो। जबज भनेको पुजिवाँदी जनवादको एउटा रुप हो। जनवादको उपयोग गर्दै समाजवादी क्रान्तिको कार्यदिशा पूरा गर्नुपर्छ। जबज मार्गदर्शन बन्न सक्दैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शन हो।’
एमाले अध्यक्ष केपी शर्मा ओलीमा मौलाएको अहंकारवादलाई आगामी निर्वाचनमा धुजा–धुजा पार्नुपर्ने पनि बताएका छन्। ‘दक्षिणवादी अवसरवादी, व्यक्तिवाद, अहंकारवादको धुजाधुजा केलाएर खण्डन गर्नुपर्छ,’ उनले भने, ‘आम कार्यकर्ताको बीचमा भण्डाफोर गर्नुपर्छ। बुर्जुवा संसदद्बाटबाट मुक्त हुनुपर्छ।’ एमालेमा ओलीले गुट मात्रै चलाएको समेत उनको आरोप छ।