गोरखा- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन्।
संगठन सुदृढिकरण तथा जनभेटघाट अभियानअन्तर्गत गोरखामा रहेका भट्टराइले शुक्रबार साँझ लाप्राकमा भएको कार्यक्रमा बोल्दै धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन्।
उनले उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान नै चलाउनुपर्ने बताएका छन्। संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको बताउँदै उनले अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुने बताएका छन्।
गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरेका छन्। कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने उनले बताए।