इलामै सहर चिया बारी राम्रो, त्यहीँ पर्यो घर हाम्रो
कसकी हौ छोरी? पातली मोरी, लैजाने आँट हाम्रो।
पूर्वेली लोकभाकाको यस लोकप्रिय गीत धेरै वर्षदेखि धेरैको मुखमा झुन्डिरहेको छ। गीत त्यतिमै टुंगिँदैन। त्यसको कथा यसरी जारी रहन्छ :
इलामैमाथि त्यो चुरे घाँटी, त्यहीँ माथि हाँगे वर
हाँगे वरमाथि चढेर हेर्दा, देखिन्छ हाम्रो घर
यो गीतले धेरैको मनलाई चञ्चल गराइदिने गरेको छ। जब मानिस घर गोठ गरेको, मेलापात गरेको, र हाट भरेको आफ्नो पुराना दिन सम्झन्छन्।
आज इलामको त्यो चुरे घाँटीमाथिको हाँगे वर मात्र चर्चामा छैन। अर्थोडक्स चिया, अकबरे, अम्लिसो, अदुवा, ओलन, अलैंची त इलामको सनातन पहिचान हो। श्रीअन्तु, माईपोखरी, करफोक, मंगलबारे भौगोलिक रूपमा रमणीय स्थल हुन् भने सेतीदेवी, पञ्चकन्या, पाथीभरा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छिन्।
पछिल्लो समयमा कन्याम निकै चर्चामा आउन थालेको छ। भौतिक विकाससँगसँग इलामका अन्य सुन्दर ठाउँ पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्– त्यस्तै क्षेत्रमध्ये एक हो भालुढुंगा। केही नयाँ गीतमा भालुढुंगाको गुणगान गाउन पनि थालिसकिएको छ।
इलाम बजारबाट नजिकै पर्ने यो पर्यटकीय क्षेत्र स्थानीयका लागि प्रिय गन्तव्य हो। सुरुसुरुमा स्थानीयहरु ठूलो आकृतिको ढुंगामाथि बसेर पुवाखोला आसपासका बगरको दृश्य हेर्न त्यहाँ पुग्थे। त्यहाँबाट इलामको उत्तर र मध्यपश्चिमको शान्ति डाँडा, मंगलबारे, चमैता, एकतप्पा, नेपालटार निकै सुन्दर देखिन्छ। पश्चिम इलामको पुवामाई बगर, शन्तिडाँडा, चमैता, एकतप्पाका क्षेत्र निकै रमाइलो देखिन्छ।
‘पुवा र माईबाहेक सबै उत्तरी क्षेत्र देखिन्छ। माईपोखरी, सन्दकपुर, छिन्तापु, पाटेनागीलगायतका पर्यटकीय क्षेत्र पनि देखिन्छ,’ ओडारे भालुढुंगा संरक्षण समितिका पूर्वसचिव सन्तोष नेम्बाङ लिम्बू भन्छन्, ‘सूर्यास्तको रमाइलो दृश्य देखिने सिद्धिथुम्का पनि यहाँबाट देखिन्छ।’
चुरे घाँटीबाट १५ मिनेटअघि बढेपछि एउटा विशाल ढुंगा भेटिन्छ। अन्दाजी ४० मिटर उचाइको सो ढुंगाको पछाडिपट्टि पैतालाको जस्तो आकृति छ। मानव पैताला जस्तै।
त्यसमाथि पुवामाई र त्यस आसपासको भूबनोट हेरेर मानिस आनन्दित हुने गरेका छन्। दृश्यपानका लागि चर्चित यो ठाउँले बिस्तारै चर्चा पाउँदै गयो। त्यो दृश्य मात्र होइन त्यहाँ भएको ठुलो ढुंगामा देखिने भालुको खुट्टाको छापजस्तो दृश्य हेर्ने पनि पुग्न थाले।यस क्षेत्रमा १३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। ढुंगामुनि निकै लामो ओडार छ। ओडार हेर्नका लागि पुग्ने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपछि पछिल्लो समय सामाजिक सञ्जालमा पनि चर्चा हुन थालेको छ।
भालुढुंगा नाम कसरी रह्यो?
चुरे घाँटीबाट १५ मिनेटअघि बढेपछि एउटा विशाल ढुंगा भेटिन्छ। अन्दाजी ४० मिटर उचाइको सो ढुंगाको पछाडिपट्टि पैतालाको जस्तो आकृति छ। मानव पैताला जस्तै। त्योदेखि तल एउटा प्राकृतिक गुफा पनि छ। अहिले त्यसको द्वारमा भालुको मुखाकृति बनाइएको छ।
‘त्यो मुखाकृतिबाट भित्र छिर्ने गुफा छ। जुन लगभग २० मिटर जति छ। त्यो भन्दा उता उभिन मिल्ने ठाउँ पनि रहेको बुढापाका बताउँछन्,’ पूर्वसचिव नेम्बाङले भने।
उनका अनुसार कतिले त त्यहाँ पहिले बनझाँक्री बसेको कथा सुनाउँछन्। त्यसैले गर्दा त्यो एक प्रकारले आध्यात्मिक महत्त्व बोकेको ढुंगा बन्यो। कतिले वनझाँक्री भनेर कथा गरे पनि केहीले अजगुत्ते साधु भनेर त्यहाँ बस्ने मानिसको कथा पनि सुनाउँछन्। किंवदन्तीमा अजगुत्ते साधु त्यहाँ तपस्या गरेर बस्ने गरेको कथा छ।
‘पहिले नाम ओडारे ढुंगा थियो अहिले ओडारे भालुढुंगा नाम छ। तर मानिसहरू भालुढुंगा भनेर चिन्छन्।’
‘मलाई पनि २००४ सालतिर जन्मिएका बाजेले भनेको कुरा हो। यो कथा उनलाई पनि हजुरबाले सुनाएका रहेछन्। त्यस आधारमा हेर्ने हो भने अजगुत्ते साधुको कुरा २०० वर्ष अघिको हुनुपर्छ,’ उनले भने। त्यहाँ साधुसँग भालु पनि बस्ने गरेको किंवदन्ती इलामका ग्रामीण भेगमा प्रचलित छ। भालुको पैताला पनि मानिसको जस्तो हुन्छ। त्यो किवंदन्तीअनुसार भालुको पैताला पनि भएको, भालु पनि बसेको, साधु सन्त पनि बसेको अनि अजंगको ढुंगा एक्लै जान नसकिने भएकाले पहिला मानिस जाँदैन थिए।
‘जंगलको बीचमा छ यो ठाउँ। पहिले त जानै डर लाग्ने रहेछ नि,’ उनले सुनाए, ‘आजभोलि त जान सकिन्छ। बाटो नै पुगिसक्यो। पहिले नाम ओडारे ढुंगा थियो अहिले ओडारे भालुढुंगा नाम छ। तर धेरैले भालुढुंगा भनेर चिन्छन्।’
अचेल दैनिक सरदर दुई सय मानिस आउने गरेका छन्। घुम्नलाई इलाम जाने मान्छे आजभोलि भालुढुंगा पुगेर मात्र फर्किने गरेका छन्। बिदाको दिन र चार्डवाडमा त मानिसको भीड लाग्ने गरेको छ।
वन समितिले पर्यटकलाई टिकट काटेर मात्र छिर्न पाउने व्यवस्था गर्न लागेको छ। त्यसका लागि गत बुधबार समितिले बोलपत्र आह्वान गरेको छ। ‘अब केही दिनभित्र हामीले टिकट गर्ने व्यवसायीको छनोट गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि टिकट काउन्टर तयार भइसकेको छ।’
कोरोना महामारीले गर्दा रोकिएको यो काम हाल सुचारु भएको हो। गत असोजबाट नेम्बाङको कार्यसमितिको म्याद सकिएपछि नयाँ समितिले बोलपत्र आह्वान गरेको हो।
‘पहिलो हाम्रो टिम हुँदा वन परियोजनाको १० लाख लगानीमा ट्री हाउस, गोलघर बनाएका थियौं। अरू संरचनाचाहिँ पर्यटनको टिमले बनाएको हो,’ उनले भने।
भालुढुंगामा उँचो ठाउँमा दृश्यावलोकनका लागि बार लगाइएको छ। टायल बिछ्याइएको छ। बस्नका लागि सिट र देउताका मूर्ति बनाउने काम पनि भएका छन्।
भालुढुंगा क्षेत्रमा अहिले दुई मूर्ति सजाइएको छ। एउटा बुद्धको अर्को शिवको। बुद्धको मूर्ति लाक्चन शेर्पाले अनुदानमा बनाइदिएका हुन्। उनले मूर्तिआसपास टायल टाँस्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै सँगै भएको शिव मूर्ती कोषमा जगेडा रहेको पैसाले बनाइएको हो।
ती दुवै मूर्ति तीन लाखको लागतमा बनेको पर्यटन समितिका उपाध्यक्ष रजिनकुमार खड्काले बताए। भालुढुंगा क्षेत्र प्रवर्द्धन गर्न समितिले धेरै योजना बनाइरहेको उनले बताए। जसअनुसार पोखरी बनाउने र पुल हाल्ने कामको खाका बनिरहेको छ भने जंगलबिचमा प्रृकतिमैत्री पदमार्ग बनाउने योजना पनि छ।
‘बुद्धको मूर्ति भएको छेउमा एउटा पोखरी बनाउने योजना बनिरहेको छ,’ खड्काले भने, ‘पोखरीमाथि एउटा सानो झोलुँगे पुल पनि हाल्ने छलफल चलिरहेको छ। त्यस्तै पर्यटकीय आकर्षणको लागि दुई रुखबीच पुल हाल्ने योजना पनि छ।’
सो स्थानको प्रवर्द्धनको लागि विदेशमा बस्ने नेपाली दाजुभाइले पनि सहयोगको रुचि देखाएको उनले बताए। ‘चिया बगानमा प्रेमको प्रतीक पानको आकार राख्ने योजनामा मलेसियामा बस्नु हुने बुद्धिमान राईको पहलमा इलाम मलेसिया जनसम्पर्क मञ्चले ६० हजार सहयोग गरेपछि त्यसमा थपथाप गरेर ढुंगामाथिको संरचना तयार पारिएका हो,’ उनले भने।
ढुंगामाथिको सुन्दर रेलिङका लागि पूर्व-सभासद् केशव थापाले बजेट उपलब्ध गराएपछि काम भएको उनी बताउँछन्। त्यसपछि पनि विभिन्न व्यक्तिहरूको सहयोगमा अहिले भालुढुंगाको सिंगार्ने काम जारी छ।