जनकपुरधाम- छठ पर्वकै लागि भनेर जनकपुरधामका थुप्रै पोखरी शृंगारिएका छन्। पोखरीको सहर भनेर चिनिने जनकपुरमा कयौं ऐतिहासिक एवं पौराणिक पोखरी भने गुमनाम पनि छन्। छठमा पनि कसैको ध्यान नपुगेका कतिपय पोखरी सरकारी निकाबाटै अतिक्रमणको जोखिममा समेत छन्।
जनकपुरका तेलहा, मडहा, पापमोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, पगपखचालन पोखरीलगायतका धार्मिक एवं पौराणिक पोखरीलाई छठको रौनकले छोएको छैन।
विगतमा २ सय ८ पोखरी भएको जनकपुरका डेढ सय पोखरी लोप भइसकेका छन्। हाल ५२ वटा मात्र अस्तित्वमा छन्। ऐतिहासिक एवम् धार्मिक पोखरी भएका ठाउँमा कतैकतै त सरकारी कार्यालय बनेका छन् भने केही स्थानमा निजी प्रयोजनका आवासीय घर ठडिएका छन्। यसरी पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।
जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरीलगायतका कयौं पोखरीको अस्तित्व मेटिइसकिएको छ। जनकपुरधाममा के कति पोखरी थिए भन्ने तथ्यको विवरण गुठी संस्थान जनकपुरधामसँगै छैन। गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मीले गुठी संस्थानमा पोखरीको तथ्यांक नरहेको स्वीकार गर्छन्।
'कतिपय पोखरीका जमिन पनि सन्त–महन्थहरुले हिनामिना गरेका छन्। राजनीतिक संरक्षणमा पोखरी अतिक्रमणमा पर्दै गइरहेका छन्,' जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वीरेन्द्र कर्ण गुनासो गर्छन्। ‘जनकपुरका पोखरीहरुलाई यहाँका नेता, कर्मचारी तथा सन्त महन्थले निजी आम्दानीको स्रोत बनाएका छन्,’ कर्णले भने।
पोखरी अतिक्रमण गरी बनाइएका भवनमा होटेल र पसल पनि मजैले चलिरहेका छन्। पोखरी संरक्षणको जिम्मा पाएका सरकारी निकायका जिम्मेवार कर्मचारीहरू अतिक्रमण गरी ठड्याइएका होटलको सेवा लिइरहेका छन्।
२०६७ सालको गुठी संस्थानको तथ्यांकअनुसार ५२ वटा पोखरी अस्तित्वमा रहेका छन्। ऐतिहासिक धार्मिक महत्व बोकेका जनकपुरधामका पोखरी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय, प्रदेश र केन्द्र तीनै सरकारको बुझाइ छ। तर कसैले पनि पर्याप्त चासो नदिँदा पोखरीको सहरले दिनदिनै पहिचान मेटाउने यात्रामा छ।
जोखिममा ऐतिहासिक पोखरी
राम मन्दिरको छेउमै रामसागर पोखरी छ। आडैमा राम युवा कमिटीको कार्यालय छ। पोखरी दुर्गन्धित छ। राम मन्दिरभन्दा दक्षिणमा अवस्थित राम सागरमा दर्जनौं स्थानीय व्यक्तिले नाली पुर्याएका छन्। कतिपयले त सार्वजनिक शौचालयकै रुपमा उक्त पोखरीलाई प्रयोग गर्दै आइरहेका छन्।
त्रेता युगमा सोही पोखरीको पानीले भगवान रामका लागि भोग/भोजन बनाइने गरेको पौराणिक कहानी छ। बाहिरबाट आउने श्रद्धालुहरु उक्त पोखरीको पानी पवित्र मानी घर लाने गर्थे। तर अहिले रामसागर फोहोर फाल्ने डम्पिङ्ग साइटमा परिणत भएको छ।
राम मन्दिरका महन्थ राम गिरिले रामसागर फोहोर भएपछि मन्दिरको राजभोग धनुषसागर पोखरीको पानीबाट तयार गर्नुपर्ने बाध्यता रहेको बताए।
एक निजी सञ्चारमाध्यमको भवनसम्म बाटो बनाउनका लागि प्रदेश सरकारले सोही पोखरीलाई पुरेर बाटो बनाउने गरी योजना बनाएको छ।
जनकपुरधामको रंगभूमि मैदान नजिकै अर्को ऐतिहासिक पोखरी पापमोचनी छ। यो पोखरीको इतिहास पनि त्रेतायुगसँग जोडिएको किंवदन्ती छ। भगवान शंकरलाई ब्रह्महत्याको पाप लाग्दा यही पोखरीमा स्नान गरेर पापमोचन गरेको बताइन्छ। यो पोखरी अतिक्रमणमा पर्दै गइरहेको छ।
पोखरीलाई प्रदेश सरकारले सौन्दर्यीकरणको नाउँमा अतिक्रमण गरेको स्थानीय बताउँछन्। एक निजी सञ्चारमाध्यमको भवनसम्म बाटो बनाउनका लागि प्रदेश सरकारले सोही पोखरीलाई पुरेर बाटो बनाउने गरी योजना बनाएको छ।
ऐतिहासिक देवान पोखरी पनि अतिक्रमणका कारण छठविहीन हुन पुगेको छ। लुतो, तथा चर्म रोग र निःसन्तान महिलाले भाकल गरी देवान पोखरीमा स्नान गरेमा निको हुने र सन्तान हुने विश्वास रहँदै आएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सन्तोष कर्ण बताउँछन्। पोखरीमा भारतसमेतका श्रद्धालुहरुले विभिन्न भाकल गरी स्नान गर्न आउने गरेको बताउँछन्, जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का दीपक साह।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहका अनुसार जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले यस आर्थिक वर्षमा देवान पोखरीको सौन्दर्यीकरणका लागि १८ लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएपनि समयमा काम सम्पन्न नगर्दा बजेट नै फ्रिज भएको बताए।
त्यस्तै, जानकी मन्दिरको उत्तरतर्फ रहेको तेलहा र मडहा पोखरीलाई सौन्दर्यीकरणको नाममा पोखरीलाई साँघुरो बनाउन खोज्दा जनस्तरबाटै विरोध भयो। त्यसपछि वर्षौंदेखि ती पोखरीहरुको सौन्दर्यीकरणको काम अहिलेसम्म पूरा हुन सकेको छैन।
स्थानीय युवा अभियन्ता सुशील कर्णलगायतका युवाहरुले पोखरीको वास्तविक नाप नक्साअनुसार उत्खनन गरी निर्माण गर्नुपर्ने आवाज उठाएपछि त्यो पोखरीको सौन्दर्यीकरणको काम स्थगित भयो।
तेलहा मड़हा पोखरीको सौन्दर्यीकरणका लागि ५ वर्षअघि नै ३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। तर पोखरी नै अतिक्रमणमा परेका कारण अहिलेसम्म सौन्दर्यीकरणको काम अगाडि बढ्न सकेको छैन।