काठमाडौं- नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणको विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्टिएको छ। त्रिचन्द्र क्याम्पस परिसरमा बनाउने राष्ट्रिय पुस्तकालयको भवन बनाउने ओली सरकारको निर्णय उल्टाउँदै काठमाडौंको जमलमै बनाउने निर्णय गरेको हो।
ओली नेतृत्वको सरकारले व्यापारिक कम्पनीलाई जग्गा सुम्पन राष्ट्रिय पुस्तकालय भवन निर्माणमा रोक लगाएको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएपछि पुस्तकालय कहाँ निर्माण गर्ने भन्ने अन्योल बढेको थियो।
२०७२ वैशाख १२ गते गएको भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण बनेपछि सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत जमल, घण्टाघर, रानीपोखरी, टुँडिखेलदेखि दशरथ रंगशालासम्म एकीकृत योजना बनाउने प्रस्ताव अघि सारेपछि पुस्तकालय निर्माण कार्य अघि बढ्न सकेको थिएन।
त्यही निणर्यअनुसार जमलस्थित ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गा राष्ट्रिय पुस्तकालयको नाममा पास भएको थियो। त्यसपछि राष्ट्रिय पुस्तकालय निर्माणका निम्ति डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भई पुस्तकालय निर्माण प्रक्रिया अघि बढेपछि ओली नेतृत्वको सरकारले पुस्तकालय निर्माण कार्य रोकेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत जमल, घण्टाघर, रानीपोखरी, टुँडिखेलदेखि दशरथ रंगशालासम्म एकीकृत योजना बनाउने प्रस्ताव अघि सारेपछि पुस्तकालय निर्माण कार्य अघि बढ्न सकेको थिएन।
२०७२ को भूकम्पदेखि पुस्तकालयका महत्वपूर्ण पुस्तक अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भवन बनाउने निणर्य गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन्। उनले भने, ‘भवन निर्माणको डिजाइन तयार भइसकेको छ, ठेक्का प्रक्रिया अघि बढाउछौं।’
शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय बनाउने निणर्य गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारका काम अघि बढाउन स्वीकृति दिएपछि त्यहाँको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ।
भवनको डीपीआर सकेर टेन्डर प्रक्रिया सुरू गर्ने बेला ओली नेतृत्वको सरकारले २०७७ साउन ५ मा ‘अर्को निणर्य नभएसम्म जमलको जग्गामा राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्नेरनगराउने’ निणर्य गरेपछि काम रोकिएको थियो।
पुस्तकालय निर्माणको प्रस्तावित जमलको जग्गामा त्यतिबेलै राखिएको ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण स्थल’ लेखिएको साइनबोर्ड अहिले पनि छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्न त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षाविद्, अभियन्ता, जनप्रतिनिधिलगायतको मागअनुसार पुस्तकालय निर्माणकालागि प्रक्रिया अघि बढाइएको बताए। उनले भने ‘राष्ट्रिय पुस्तकालय जमलमै बनाउने डीपीआर तयार भइसकेकाले त्यसैअनुसार प्रक्रिया अघि बढाएका छौं।’
पुस्तकाय अस्तव्यस्त हुँदा पुस्तकहरु अन्यत्र लगेर राखिएको छ। पुस्तकालयका पुस्तकमध्ये ८० हजार थान काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविमा र झण्डै २१ हजार थान पुस्तक सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाममा छन्। त्यस्तै, झण्डै सात हजार थान बालपुस्तक र नयाँ खरिद गरिएको तीन हजार पुस्तक हरिहर भवनकै बालशाखाको गोदाममा छन्।