काठमाडौं- भक्तपुरको धेरै परिचय मध्येको एउटा परिचय हो, जुजु धौ। जीवन्त सांस्कृतिक शहरका रुपमा रहेको भक्तपुर जुजु धौको शहरको रुपमा पनि चर्चित छ। जुजु धौ अर्थात् दहीको राजा।
दसैं, तिहार, म्हपूजा, बिस्केट जात्रा, कुशेऔंसी, मातातिर्थे औंसी, असार पन्ध्र लगायतका चाडपर्वमा भक्तपुरको जुजु धौको अत्याधिक माग हुने गरेको छ।
यमपञ्चक लागेसँगै भक्तपुरका जुजु धौ व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ। तिहारका बेला काठमाडौं उपत्यकामा जुजु धौको माग धेरै नै हुने गरेको छ।
‘अरु चाडमा पनि जुजु धौको माग आउँछ। खासगरी तिहारको बेलामा भने जुजु धौको बढी नै माग हुने गरेको छ,’ दही व्यवसायी रामलक्ष्मी सैंजुले भनिन्, ‘जुजु धौलाई पूजाआजा तथा चोखोनितोको काममा सगुनका रुपमा लिइन्छ।’
भक्तपुरका दही व्यावसायीहरुले अर्डरअुनसार स्पेसल धौ पनि बनाउने गरेका छन्। सो स्पेसल जुजु धौमा काजु, बदाम, पेस्ता, खुवालगायत मसलाको प्रयोग हुने गरेको छ। ‘अचेल पहिल्यै अर्डर दिएर किन्न आउने धेरै हुन्छन्,’ उनी भन्छन्।
पुस्तौनी माइला साहुको धौ पसः
भक्तपुरमा धौ व्यवसाय गर्ने धेरै छन्। तिनमध्येका एक हुन् माइला साहुको परिवार। सैंजु परिवारको पुस्तौनी दही व्यावसायलाई निरन्तरता दिइरहेकी छिन्, ५२ वर्षीया रामलक्ष्मी सैंजु।

उनले बाउबाजेको पालादेखि नै जुजु धौ बेच्दै आएको र विभिन्न स्थानमा पसलहरु सार्दै आज दरबार क्षेत्रमा आइपुगेको बताइन्। आजभन्दा ७०-८० वर्ष पहिले उनका बा गणेशबहादुर सैंजुलगायत परिवारका सबै सदस्य मिलेर यो व्यवसायलाई पूरै परिवार मिलेर चलाउने गरेका थिए।
त्यतिबेला सैंजुको दही पसलको कुनै 'ब्राण्ड नेम' थिएन। सबैले माहिला साहुको पसल भन्थे। उनले आज त्यही नामलाई पसलको नाम दिएकी छिन्- माइला साहुको दही पसल।
पहिले जुजु धौलाई दही मात्र भनिने गरेको थियो। पछि यसलाई नेवारी खानाको जातीय पहिचान दिन जुजु धौ अर्थात् दहिको राजा नामाकरण गरिएको किम्वदन्ती छ। पहिले भक्तपुरमा केही सीमित जुजु धौ पसल थिए। तर माइला साहुको दही पसल भने चर्चित थियो।
सो पसलमा पूर्व-प्रधानमन्त्री सूर्यबहादुर थापा पनि नियमित रुपमा आउँथे। अहिलेका चर्चिच डाक्टर जगदीशलाल वैद्य पनि माइला साहुको दहीको पारखी हुन्। पेटका डाक्टर वैद्यले दहीको महिमा नजान्ने कुरै भएन।
कोरोनाले थलिएको दही व्यापार
कोरोना महामारीले धेरै कुरा उलटपुलट भएसँगै भक्तपुरको दही व्यापार पनि नराम्ररी थलियो। ‘अहिले पहिलाजस्तो व्यापार छैन,’ उनले भनिन्, ‘पहिला पहिला भक्तपुरमा जुजु धौ बेच्ने पसल थोरै थिए। पसल थोरै हुँदा बिक्री बढी हुन्थ्यो। भ्याइनभ्याइ हुन्थ्यो। अहिले पसल पनि धेरै भए । त्यो भएर पनि पहिलाजस्तो बिक्री हुँदैन।’
जुजु धौ बनाउने भक्तपुरे शैलीले गर्दा पनि यो दही चर्चित भएको हो। पहिला त किसानहरुबाट ल्याइने भैंसीको दूध बाक्लो हुन्जेल तताउने गरिन्छ। त्यसरी तातेको दूधलाई दही बनाउने माटोको कतारोमा हाल्ने गरिन्छ र झण्डै सात-आठ घण्टा जम्न दिइन्छ।
‘एक त दूधलाई राम्रोसँग उमाल्ने गरिन्छ,’ उनले भनिन्, ‘स्वाद राम्रो होस् भनेर बाक्लो हुने गरी उमालिन्छ। अनि माटोको कतारोमा हालिन्छ। माटाको कतारोले पानीलाई सोस्ने हुँदा स्वाद अझ बढ्छ।’
यद्यपि जुजु धौको गुणस्तर विगतको जस्तो नभएको उनको आफ्नै अनुभव छ। यसो हुनुको एउटै मात्र होइन, धेरै कारण रहेको उनी बताउँछिन्।
‘समय नै अर्कै भएर आयो नि। पहिलाजस्तो राम्रो दूध नै पाइँदैन,’ उनले भनिन्, ‘दूधमा पनि भैंसी र गाईको दूध मिसाइने गर्छन्।’
जुजु धौका लागि छिमेकी जिल्ला काभ्रेको धुलिखेल, खावा, पनौती, पाँचखाल, नाल्दुमलगायतका गाउँहरुबाट दूध आउने गरेको उनी बताउँछिन्।
जुजु धौको लागि दूधमा चिल्लोको मात्रा ५ प्रतिशत मात्र हुनुपर्दछ। तर डेरीले प्याकेट बन्द गरी वितरण गर्ने दूधमा चिल्लोको मात्रा कम हुँदा जुजु धौ बनाउन भैंसीकै दूध आवश्यक पर्दछ।
जात्रा तथा चाडपर्वबाहेक नेवारी समुदायले मनाउने व्रतबन्ध, बेलविवाह, सूर्यदर्शन, विवाह, मर्दापर्दामा जुजु धौ अनिवार्य मानिन्छ। नेवारी समुदायमा त प्रत्येक भोजको अन्तिम परिकार जुजु धौ नै हुनुपर्ने प्रचलन छ।
‘जुजु धौ बिना त हाम्रो भोज नै पुरा हुँदैन नि’, उनले भनिन्, ‘भोजको अन्तिममा निधारमा जुजु धौको टीका लगाईदिएपछि भोज सकिन्छ।’
पछिल्लो केही समय 'भक्तपुरको जुजु धौ' नाममा बिक्री हुने प्याकेटको दूधबाट बनेको दहीका कारण आममान्छे झुक्किएको अवस्था पनि छ। सो दहीका कारण नयाँ पुस्ता जुजु धौबारे झुक्किने अवस्था छ।
भक्तपुरमा चिनी हालेको, चिनी नहालेको, मसला हालेको, खुवा भएको, किसमिस भएको जुजु धौ पाइन्छ। जुजु धौका पारखीहरुले आफ्नो स्वाद अनुसारको जुजु धौको अर्डर गर्ने गर्छन्।