काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउन तयार रहेको बताएका छन्।
ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकको २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग भने, ‘मैले मोदीलाई नेपाल आउनुस् भनें। तपाईंलाई नेपालमा स्वागत छ भनें। उहाँले नेपाल आउन तयार रहेको बताउनुभयो।’
प्रधानमन्त्री देउवाका अनुसार मोदीले पनि देउवालाई भारत भ्रमणको निम्तो दिएका छन्।
प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे पनि संक्षिप्त जानकारी गराए। उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे जानकारी दिँदै भने, ‘बाइडेनले नेपाल खुब मनपर्छ भने।’ देउवाले आफू टोपी लगाएर गएकोले देख्नेवित्तिकै बाइडेनले चिनेको पनि बताए। प्रधानमन्त्री देउवाले बाइडेनसँग आफ्नो विशेष रूपमा भेट भएको बताए। उनले भने, ‘म टोपी लगाएर गएको थिएँ, बाइडेनले देख्नेबित्तिकै चिनिहाले।’
प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग भएको भेटवार्ताबारे पनि बताएका थिए।