काठमाडौं- कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणले बाढिपहिरोले ठूलो जनधनको क्षति पुर्याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन्।
बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढिपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन। गृहमन्त्रीसमेत रहेका खाँणले बाढिपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए।
पीडितहरुलाई राहत दिने, घाईतेहरुको उपचारको व्यवस्था गर्ने र हराईरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाइरहेको उनको दाबी छ। सरकारले बाढी पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराईरहेकाका परिवारलाई २ लाख र घाईतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले उल्लेख गरे।
‘यो वर्षाको कारणले ठूलो जनधनको क्षति भएको छ। यसका लागि हामीले सर्वप्रथम खोज गर्ने, उद्धार गर्ने, राहत दिने र पुनर्वासको व्यवस्था गराउने हो। त्यसका साथसाथै यहाँ चाँहि भत्केका बाटोहरु बनाउने, सिचाई बनाउने, तटबन्ध बनाउने र यो भूखण्डलाई पहाडलाई कसरी नभत्कने बनाउन सकिन्छ? र भत्कने यसका भौगर्भिक कारणहरु के छ? त्यसका लागि पनि हामीले खोज अनुसन्धानको काम गर्नु पर्दछ,' उनले भने, 'पीडितहरुले सबभन्दा पहिले मृतकहरुलाई राहत रकम दिन भन्नु भएको छ। त्यो सरकारले निर्णय गरिसकेको छ। १ जना मृतकले १ लाख पाउनु हुन्छ। त्यस्तै घाईतहरुलाई हामीले उपचारको व्यवस्था गर्ने हो, गरिराखेका छौं। त्यस्तै जो बेपत्ता हुनु भएको छ। हरेक बेपत्ता सदस्यहरुलाई पनि उसको परिवारलाई २ लाख राहत दिनेछौं। अब विपद घोषणा चाँही हामीले डडेलधुरा, बैतडी र बझाङ, पूर्वी नेपालका ईलाम, पाँचथर लगायतका जिल्लाहरुलाई विपद क्षेत्रको रुपमा घोषणा गर्नु पर्दछ।’
खाँणले बाढिपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागिपर्ने पनि बताएका थिए।