काठमाडौं- तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकलाई उपत्यकाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप लगाउन थालेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ।
आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरूले बताएका छन्। सर्वसाधारणले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महसुस गरेको बताएका छन्।
मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ। मंगलबारबाट सुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन्।