शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकातर्फ संकेत गर्दै प्रचण्डले भने- गठबन्धनलाई तोड्‍ने विदेशी षड्‌यन्त्र भइरहेको छ

अमेरिकातर्फ संकेत गर्दै प्रचण्डले भने- गठबन्धनलाई तोड्‍ने विदेशी षड्‌यन्त्र भइरहेको छ

अमेरिकाले एमसीसीको बारेमा जवाफ दिन एक विज्ञप्ति जारी गरेकोतर्फ संकेत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्न विदेशी षड्यन्त्र भइरहेको बताएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- अमेरिकाले एमसीसीको बारेमा जवाफ दिन एक विज्ञप्ति जारी गरेकोतर्फ संकेत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्न विदेशी षड्यन्त्र भइरहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले सोमबार दसैं, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षडयन्त्रहरु भइरहेको बताएका हुन्। गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए। 

गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजि भइरहेको पनि उनले जिकिर गरे। वैदेशिक शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले बताए। उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौ भन्न सक्ने स्थिति अझैपनि छैन। यो गठबन्धन तोड्नको लागि अनेक षड्यन्त्र र हतकन्डाहरु अपनाइराखिएकै छ। फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ। गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रुपले। या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइराख्या छ। यहाँ भित्र अर्को त्यस्तो निरंकुश प्रवृतिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइ राख्या छ।' 

अध्यक्ष प्रचण्डले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए।तीनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताएका छन्। उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानीय तहको निर्वाचन गर्ने विचारहरु पनि छलफलमा आएको जानकारी दिए। 

अध्यक्ष प्रचण्डले अनेक खालको षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सबै चनाखो भएर बस्‍नुपर्ने बताए। 

अक्टोबर २९ मा अमेरिकास्थित एमसीसी मुख्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संसद्‍को अधिवेशन एमसीसी सम्झौताको अनुमोदनविना कात्तिक १२ गते अन्त्य भएसँगै लाखौं नेपाली घरपरिवारलाई थप लाभ पुर्‍याउन ढिलाइ भएको जनाएको छ। ‘यद्यपि, गठबन्धन नेताहरूले कम्प्याक्टलाई अनुमोदन गर्न आवश्यक कदमहरू बुझेका छन्, जुन नेपालको कानुन अनुसार आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ। 

अमेरिकाको उक्त विज्ञप्तिपछि नेपाललाई एमसीसी पारित गराउन दबाब परेको र एमसीसीको विपक्षमा उभिएका प्रचण्डसँगको गठबन्धन भत्किने आँकलन पनि भइरहेका छन्। 

प्रकाशित: Nov 01, 2021| 21:15 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...