काठमाडौं- सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिँदा कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेको छ। सरकारले पुस मसान्तसम्ममा लक्षित वर्गको दुई तिहाईलाई खोप लगाइसक्ने योजना बनाएकाले त्यसलाई प्राप्त गर्नका लागि खोप कार्यक्रम विस्तार गरेको हो।
यसका साथै खोप लगाए संक्रमणको जोखिम कम हुने भएकाले पनि खोप लगाउन आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
उपत्यकाबाट बाहिरिनेहरुका लागि खोपमा पहुच सहज होस् भनेर कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको छ। मन्त्रालयले परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई खोप लगाउने योजना बनाएको थियो। उक्त लक्ष्यमा सफल भएको मन्त्रालयको भनाइ छ।