काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन्।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ ले सोमबार बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका हुन्। उनले एमालेविरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानुनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाएका छन्।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताए। उनले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दाबी गरेका छन्।
महासचिव पोखरेलले भने, ‘एमालेविरुद्धमा एउटा गठबन्धन तयार छ। त्यो गठबन्धन उसले अरु केही गरेको छैन, संविधान र कानुनहरुलाई ठाडो उल्लंघन गरेको छ। मूल्यमान्यताहरुलाई ठाडो उल्लंघन गरेको छ। राजनीतिक अस्थिरता सिर्जना गरेको छ। उसले औपचारिक ढंगले प्रारम्भ गरेको छ।'
महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताए। उनले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताएका छन्।