काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको समस्याबारे प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणाले जति चाँडो निकास दियो, त्यति नै उनको सम्मान हुने बताएका छन्। धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अदालतको समस्याबारे प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन भनेर लामो समय अड्काउन नहुने धारणा राखेका थिए।
'प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव राख्नु भएछ। राजीनामा गर्न तयार हो नै भने सम्मानजनक भनेर पर्खने अवस्था छैन। उहाँले जति छिटो बाहिरिनुहुन्छ त्यति नै उहाँको सम्मानजनक हुन्छ,' उनले भने, 'धेरै लामो समय अब बस्न उचित छैन। नभए उहाँप्रति असम्मान बढ्दै जान्छ।'
यस्तै पौडेलले अब महाधिवेशनको समयतालिका हेरफेर नहुने समेत बताएका छन्। 'यसपटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन। मङ्सिर २४ देखि २६ मै महाधिवेशन हुन्छ,' उनले भने।
पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रूपान्तरणको आवश्यकता भएको उल्लेख गर्दै उनले रूपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्ने र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताए। उनले भने, 'युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ।'
नेता पौडेलका अनुसार सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनुपर्दछ। 'पार्टीको सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनुपर्छ,' उनले भने।
वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङको आधारमा नभई संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको बताए। वर्तमान अवस्थाको सरकार गठबन्धनको भए पनि आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने स्पष्ट पारेका थिए।