काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्न उठेको बताएका छन्।
सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको बताए।
राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भए पनि पार्टीहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ। उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागिपर्ने पनि बताए। देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनको भनाइ थियो।
पौडेलले भने, ‘संसद् चल्न नसकेर अस्ति भर्खरै स्थगित भएको छ, अदालतको त्यो अवस्था छ। अरु संवैधानिक निकायहरु त्यस्तै हालतमा छन्। राजनीतिक पार्टीहरुको त्यो हालत छ। राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरु नै नेपाली जनताको भरोसाको केन्द्र हुन्। तर राजनीतिक पार्टीहरुको अवस्था के छ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ। त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ। नेपाली कांग्रेसले पनि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु।’
वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिँडेको बताए। अहिले आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भए पनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेकोमा उनको गुनासो थियो।
उनले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताए। वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ।