जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले पार्टी अस्तव्यस्त रहेकाले पार्टीलाई व्यवस्थित बनाउने हाम्रो पहिलो प्राथमिकता रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले पछिल्लो समय पार्टी नै अस्तव्यस्त भई सकेको छ, त्यसलाई व्यवस्थित बनाउने पहिलो प्राथमिकतामा रहेको बताए। 'लोकतन्त्रमाथी समेत खतरा बढ्दै गइरहेको छ', पौडेलले भने, ‘अहिले मेरो पार्टी अस्तव्यस्त छ, पार्टी व्यवस्थित भए लगत्तै लोकतन्त्र पनि आफै व्यवस्थित हुँदै जान्छ।’
पार्टीलाई व्यवस्थित बनाउनका लागि पुस्तान्तरणभन्दा पनि रूपान्तरणको आवश्यकता रहेको पौडेलले बताए। 'पार्टी भित्र पुस्तान्तरणको चर्चा चलिरहेको छ। तर, अहिलेको आवश्यकता रूपान्तरणको हो', उनले भने।
पार्टीभित्र सबैलाई एक ढिक्का बनाएर अगाडी बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनु पर्नेमा उनले जोड दिए। उनले भने, ‘पार्टीको सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्तामा छोड्नु पर्छ, न कि भागबन्डाको आधारमा दिइनु पर्छ।’
पार्टी महाधिवेशन कार्यतालिकाको विषयमा कुरा गर्दै पौडेलले भने, 'यो अन्तिम कार्यतालिका हो मंसिर २४ गते भित्रै पार्टी महाधिवेशन हुन्छ, अब महाधिवेशन कार्यतालिकामा कुनै पनि हालतमा हेरफेर हुँदैन।'
एक प्रश्नमा वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङ्गको आधारमा प्रधानमन्त्री नबनेको दाबी गरे। उनले देउवा संविधानको मर्म तथा विधि प्रक्रिया अनुसार नै प्रधानमन्त्री बनेको बताए। यद्यपि सरकारले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। उनले भने ‘ सरकारले गति लिन सकेको छैन, सरकारले पूर्णता पाएको छ विश्वास गरौं चाँडै नै कामले पनि गति लिन्छ।’
न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाई थियो। पौडेलले पार्टीभित्र चाँडै छलफल गरेर पार्टीको धारणा बनाएर चाँडै न्यायपालिकामा देखिएको समस्या यसको समाधानका उपायहरूको विषयमा सार्वजनिक गरिने बताए।