मनाङ- राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ जाने भएकी हुन्।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।
'मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ। त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुहुने छ', प्रजिअ आचार्यले भने।
जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने कार्यक्रम रहेको छ।
मनाङका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ। यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन्।
बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ। त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ।
आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो। यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङमा पर्छ। मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ। यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ।
गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो। उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ। मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ।
- रासस