काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व गोर्खा सैनिकका मागहरु पूरा गर्न सरकार लागिरहेको बताएका छन्। लन्डनस्थित भूतपूर्व गोर्खा सैनिक संगठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले भूपू गोर्खा सैनिकका समस्या समाधान गर्न सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।
उनले बेलायती कानूनअनुसारको माग राख्न पनि भूपू गोर्खा सैनिकका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले नागरिकताका सम्बन्धमा संविधान संशोधन गर्नुपर्ने भएकाले सबै पार्टीको सहयोग आवश्यक पर्नेसमेत बताएका छन्
नेपालमा सहज आवतजावतका लागि हाल अन-अराइभल भिसाको व्यवस्था गरिएको उनको भनाइ थियो। भेटमा भूतपूर्व गोर्खा सङ्गठनका पदाधिकारीहरूले सरकारसँग विभिन्न माग गरेका थिए। भूपू गोर्खा सैनिकले बेलयाती सेना र गोर्खा सैनिकको सुविधामा विभेद गरेको भन्दै समानता कायम गर्न माग गरिरहेका छन्।
प्रधानमन्त्री देउवाले आइतबार बिहान संयुक्त अधिराज्य बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्ड्रीजका मन्त्री पल सोलीले शिष्टाचार भेटवार्ता गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री देउवाले नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्न आग्रह गर्दै ग्रिन र क्लिन उर्जामा लगानी गर्न जोड दिए। मन्त्री सोलीले आफ्नो सरकार र सम्बन्धित निकायसँग थप छलफल गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवासँग वर्ल्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि आतइबार भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री देउवाले नेपालमा पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालले धारणा राख्ने बताएका छन्।
प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लन्डन गरेका थिए।
देउवा नेतृत्वको प्रतिनिधिमण्डल आइतबार नै स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछ। कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ।