काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे।
‘बीपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन? भनेर सरकारलाई प्रश्न गरेका छन्। कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन? भन्दै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए। उनले सबै न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्नसमेत तेर्स्याएका छन्।
उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ। बुद्धिजीविहरु एकातिर छ। संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ। यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिन्। केही नभए पनि एक्लै बेञ्चमा बस्छ। कसको तागतमा? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊ। सकरार देशको प्रतिनिधि हो। प्रथम प्रतिनिधि हो, देशको । सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन? आज संसारको सामु न्यायालयको अवस्था यस्तो छ। तर सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ। आज बेलायतको सामु न्यायालयको यो अवस्था छ। यस्तो अवस्थामा हामी संसारको सामु टाउको देखाउन सक्छौं?’
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएकी छन्। उनले संविधानमा नभएको संसद् भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेकी हुन्। पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा चिन्ता समेत व्यक्त गरेका छन्।