काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री देउवा र भारतीय सकमक्षी मोदीबीच २० मिनेट भेट हुने जनाइएको छ। भेटवार्ताको तालिका अनुसार प्रधानमन्त्री देउवाले ग्लास्गोको स्थानीय समय अनुसार बिहान १०ः४० देखि ११ बजेसम्म भेट्ने कार्यक्रम रहेको छ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा भाग लिन स्कटल्यान्ड पुगेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग ‘साइडलाइन’ वार्ता गर्न लागेका हुन्।
प्रधानमन्त्री देउवा चार वर्षपछि भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन्। यसअघि चौथोपटक प्रधानमन्त्री भएको बेला देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा समकक्षीको रुपमा मोदीसँग भेट गरेका थिए। ग्लास्गोमा हुने प्रधानमन्त्री देउवा र मोदीबीचको भेट महत्वपूर्ण हुने र यसले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सघाउ पुग्ने परराष्ट्र मामिलाविज्ञ डा. दिनेश भट्टराईले बताएका छन्।
अघिल्लो सरकारको समयदेखि नै भारतसँगको सम्बन्धमा आएको तिक्तता अझै बाँकी रहेको र सोमबार हुन लागेको भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने डा. भट्टराईको धारणा छ। यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्दै नयाँ नक्सा जारी गर्दा दृढताका साथ उभिएका देउवाप्रति भारत असन्तुष्ट देखिएको छ। वार्ताका क्रममा उक्त असन्तुष्टिका विषयमा पनि छलफल हुनसक्ने कूटनीतिज्ञहरुको बुझाइ छ।
यससँगै देउवा र मोदीबीचको भेटमा द्विपक्षीय भ्रमणको विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्ध सुधार गर्नका लागि यसअघि सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पठाएका थिए। पार्टीको महाधिवेशन नजिकिएसँगै भारतसँगको सम्बन्ध सुधारका लागि अहिलेको भेट महत्वपूर्ण हुने र यसले दुई मुलुक र दुई देशका सत्तारुढ पार्टीबीचको पारस्पारिक सम्बन्धलाई थप बलियो बनाउने कांग्रेसकै एक नेताले बताए।
त्यसैगरी प्रधानमन्त्री देउवाले सोमबार नै वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने भएका छन्। मंगलबार प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग पनि भेटघाट गर्ने भएका छन्।