आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ : भीम रावल [कुराकानी]

ओलीले १० बुँदे सहमति लत्याए परिस्थिति बदलिन सक्छ : भीम रावल [कुराकानी]

पार्टीलाई ठूलो क्षति हुनबाट जोगाएको सहमतिलाई लत्याउँदा यसले झनै ठूलो असन्तुष्टि बढाउन सक्छ। त्यसैले सहमति कार्यान्वयनको विकल्प छैन।
 |  आइतबार, कात्तिक १४, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, कात्तिक १४, २०७८

vianetvianet

एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा‍. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन्। सहमति कार्यान्वयनमा नेतृत्वले उदासीनता देखाएकोमा असन्तुष्टि जनाउँदै ८ कात्तिकको स्थायी कमिटी बैठकमा राजीनामा दिने घोषणा गरेका उनले आइतबार लिखित राजीनामा बुझाएका हुन्। कार्यदल संयोजकबाट राजीनामा दिएपछि अबको योजनाबारे रावलसँग गरिएको संक्षिप्त कुराकानीः-

triton college

दसबुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओली अनिच्छुक रहेको देखियो। यस्तो अवस्थामा अब तपाईंहरु कसरी अगाडि बढ्नुहुन्छ? 

मैले यस सम्बन्धमा  दसबुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट लिखित रुपमा दिएको राजीनामा धेरै कुरा भनिसकेको छु। कुनै पनि देशदेश बीचमा, संस्थासंस्था बीचमा वा व्यक्तिव्यक्तिका बीचमा लिखित सहमति हुन्छ भने त्यसको ठूलो अर्थ हुन्छ। त्यस्तो सहमति उल्लंघन गरियो भने त्यहाँ विश्वासको संकट उत्पन्न हुन्छ। त्यसले अन्ततः सहमति गर्ने तर कार्यान्वयन नगर्ने व्यक्ति र संस्थालाई नै क्षति पुर्‍याउँछ। त्यसैले यो मेरो मात्रै व्यक्तिगत विषय होइन। 

तपाईंहरु जेलाई आधार मानेर पार्टीमा बस्नुभयो। त्यही कार्यान्वयन नहुने भएपछि अब तपाईंहरुको एमालेमा बसाइ कसरी सहज होला? 

म व्यक्तिगत कुरामा सोच्दै–सोच्दिनँ। किनभने कुनै पार्टीको नेतृत्व गर्ने व्यक्तिले उसको कमिटीले लिखित प्रतिबद्धता व्यक्त गर्छ भने त्यसको कार्यान्वयन गर्नु सम्बन्धितको कर्तव्य हो। कसैले गर्दैन भने त्यसको पार्टी, कार्यकर्ता, देश, दुनियाँले मूल्यांकन गर्छ। म एमाले उपाध्यक्ष हुँ। म आफ्नो कर्तव्यमा दृढ छु। देश, जनता, विधिपद्धतिप्रति कटिबद्ध छु। म आफ्नो कर्तव्य गर्दै जान्छु। आफ्नो कर्तव्य नगर्नेले किन गरेनन्? त्यो उहाँहरुलाई सोध्नु भए अत्ति उत्तम हुने थियो। 

National life insurance

हिजो जसरी अपहेलित हुनुपरेको थियो। त्यही कारण तपाईंका सहयात्रीहरु पार्टी फुटाएर गए। आज फेरि तपाईंहरु त्यही अपहेलना सहिरहनुपर्ने अवस्था आएपछि पार्टीमा रहिरहनुको अर्थ कसरी रह्यो त? 

देश र जनताप्रति समर्पित सिद्धान्त र विचार भएको मान्छेले अपहेलनाको मतलब राख्दैन। किनभने अपहेलना कुनै व्यक्तिले निजी काममा गर्‍यो भने त्यसमा अर्थ राख्न सक्छ। तर सिद्धान्त र नीति अट्दा त्यो कुरा आउँदैन। अब गरेका सहमति कसैले मान्दैन, स्वीकार गर्दैन भने हामी किन अपहेलित हुने? जसले त्यो सहमति नगरेर सम्मान नगरेको हो अपहेलित महसुस त उहाँहरुले गर्नुपर्ने हो।

पार्टीलाई ठूलो क्षति हुनबाट जोगाएको सहमतिलाई लत्याउँदा यसले झनै ठूलो असन्तुष्टि बढाउन सक्छ। त्यसैले सहमति कार्यान्वयनको विकल्प छैन। 

त्यस कारण हामीले गरेका सहमति स्थायी कमिटीका ११ नेताहरुले हस्ताक्षर गरेको, केन्द्रीय कमिटीले पारित गरेको, अपानि जारी गरेको कुरा अब कसैले नमान्ने हो भने हामीले किन अपहेलित हुने? हामी आफ्नो कर्तव्य गर्दै जान्छौं, तर जुन यो संस्था पार्टीलाई जोगाउने र त्यसबाट देशको हित गर्ने हाम्रो अठोटमा निरन्तर कुठाराघात हुँदै गयो भने परिस्थिति बदलिन पनि सक्छ। राजनीति, सिद्धान्त र विचार भनेको कसैको निजी र नियन्त्रणमा हुँदैन। त्यसैले सधैं चुप लागिरहने भन्ने हुँदैन। 

परिस्थिति बदलिन सक्छ भनेको के हो? नयाँ ढंगले अघि बढ्ने योजना बनाउनुभएको हो? 

समयक्रमसँगै बिस्तारै थाहा हुँदै जाने कुरा हुन्। अहिले नै सबै कुरा भन्न सकिँदैन। घटनाक्रमसँगै योजना बन्छन्, परिस्थिति फरक हुन सक्छ। 

दसबुँदे सहमति कार्यान्वयन गराउन नसकेका कारण तपाईंले राजीनामा दिनुभएको हो? 

त्यो हास्यास्पद तर्क हो। किनभने मैले नै हो कार्यदलमा संयोजन गरेर सहमतिमा पुर्‍याउन भूमिका खेलेको। मैले नसक्ने भन्ने कुरै आउँदैन तर पार्टीको निर्णय अपानि जारी गरेर कार्यान्वयन गर्नुपर्ने अख्तियार प्राप्त कार्यकारी अधिकार भएका व्यक्तिले त्यसलाई कार्यान्व्यन गर्दिनँ भन्दा त्यसको जिम्मेवार म हुन्छु र? 

त्यसो भए तपाईंहरुलाई अध्यक्ष ओलीले धोका दिएको हो? 

धोकाभन्दा पनि उहाँ आफ्नो लिखित बाचाबाट पछि हटेको पक्कै हो। सहमति गर्न तयार व्यक्तिले कार्यान्वयन गर्न अनिच्छा देखाएकै हो। यसले पार्टीलाई फाइदा गर्नेवाला छैन। पार्टीलाई ठूलो क्षति हुनबाट जोगाएको सहमति लत्याउँदा यसले झनै ठूलो असन्तुष्टि बढाउन सक्छ। त्यसैले सहमति कार्यान्वयनको विकल्प छैन। 

प्रकाशित: Oct 31, 2021| 17:53 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...