शुक्रबार, भदौ ५, २०८३

एमसीसी पास गर्न गठबन्धनमा छलफल गर्छौं : प्रकाशशरण महत

एमसीसी पास गर्ने विषयमा गठबन्धन छलफल हुने उनले बताएका छन्। उनले एमसीसी सम्झौतामा संशोधनको कुनै ठाउँ नभएकोतर्फ पनि संकेत गरेका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहायता एमसीसी पास गर्ने विषयमा गठबन्धन दलहरुमा छलफल गर्ने बताएका छन्। 

 एमसीसीको पूरारुप पनि थाहा नहुनेले एमसीसीको विषयमा भ्रम फैलाइरहेकोसमेत नेता महतले बताए। उनले थपे, 'हामीले दातृ राष्ट्रसँग ऋण लिएका छौं। जापानसँग ऋण लिँदा ठेकेदार र कामदार पनि उनीहरूकै आउँछन्। प्रश्न उठ्दैन। यो त अनुदान हो। यो के कारणले अन्य सहयोगभन्दा खराब भयो? एमसीसीमा नभएको कुरामा बढी हल्ला गरियो। यसले राम्रो सन्देश जाँदैन। यती त हामी आफैं गर्न सक्छौं किन लिने भनेर तर्क ल्याइएको छ। त्यसो भए अन्य देशसँग पनि किन लिने? अरू सहयोगको तुलना गरेर अन्यको के-के सर्त रहेछ? ऋण र अनुदानको शर्त तुलना गरेर भन्‍न सक्नुपर्‍यो नी।'

एमसीसी पास गर्ने विषयमा गठबन्धन छलफल हुने उनले बताएका छन्। उनले एमसीसी सम्झौतामा संशोधनको कुनै ठाउँ नभएकोतर्फ पनि संकेत गरेका छन्। उनले भने, 'केहीले संशोधनको कुरा गरेको उल्लेख गर्दै संशोधन के विषय गर्ने भनेर भन्‍न नसक्‍नेले संशोधनको रटान लगाइरहेको छन्। एमसीसी इन्डो प्यासेफिक रणनीति होइन भनेर अमेरिकाले भनेपछि संशोधन के मा गर्ने? भन्‍नपर्‍यो नी। बजारमा ठूला कुरा गरेर मात्रै हुँदैन। भन्‍न सक्नुपर्छ।'

उनले परराष्ट्र सम्बन्ध अथवा सहयोग लिने मापदण्ड एउटै हुनुपर्नेसमेत बताएका छन्। उनले भने, 'चीन, भारत, अमेरिका वा जापान जोसँग सहयोग लिए पनि एकै मापदण्ड हुनपर्छ। देशको हित केन्द्रमा राख्नु पर्छ। अफवाह फैलाउने काम हुन्छ, त्यस्ता कामहरु कसैले पनि गर्नु हुँदैन।'

बत्तिसपुतलीमा आइतबार आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै सहमहामन्त्री डा. महतले कोभिडका कारण कार्यतालिका परिमार्जन भएको र अबको कार्यतालिका दायाँबायाँ नहुने बताएका छन्। 

उनले भने, 'अब दायाँबायाँ हुँदैन। महाधिवेशन हुन्छ। प्रदेशमा कमिटी छैन। व्यवस्थापन केन्द्रले नै गर्छ। सभापति फर्केपछि बैठक हुन्छ र महाधिवेशन हुन्छ।'

उनले आफू महामन्त्रीको उम्मेद्वार भएको उल्लेख गर्दै आफ्नो समूहमा छलफल भइरहेको र चाँडै औपचारिक घोषणा पनि गर्ने बताएका छन्। न्यायालयमा देखिएको पछिल्लो विवादको विषयमा बोल्दै नेता महतले प्रधानन्यायाधीशले संविधानको सीमा नाघेको अवस्थामा संसद्‌को भूमिका आउने बताएका छन्। 

उनले अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुसँग केही स्थानमा चुनावी गठबन्धन हुनसक्नेसमेत बताएका छन्। उनले भने, 'लिमिटेड ठाउँमा चुनावी गठबन्धन हुनसक्छ। तर, चुनावी गठबन्धनमा सन्दर्भमा पार्टी भित्र सहज धारणा छैन।'

उनले भने, 'प्रधानन्यायाधीशले संविधानको सीमा उल्लंघन गरेमा संसद्‌ले हस्तक्षेप गर्छ। अहिले त्यो अवस्था आएको छैन । भित्रकै असन्तुष्टि होला। किन नबोलेको भन्ने होइन। न्यायालय भित्रको विवाद न्यायालयमै मिल्नु पर्छ। संसद्‌को गतिरोधको समधान संसद्‌ले नै खोज्छ। त्यसैगरि न्यायालयभित्रको समस्या न्यायालयका सरोकारवालाले छलफल गरेर निष्कर्ष निस्कियोस्। त्यहीँभित्रबाट निकास निस्कियोस् भन्‍ने हाम्रो अनुरोध छ।'

 

प्रकाशित: Oct 31, 2021| 16:29 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...