काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बेला भएको बताएका छन्।
आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वले हेलचेक्रयाइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताए। पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्नेमा जोड दिए।
‘पार्टीभित्रको समस्यामा हामीले कुरा नउठाए कसले उठाउँछ? पार्टीको समस्या हामी आफैं समधान गर्ने हो,’ नेता सिंहले भने, ‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ। आलोचना गर्दा पार्टीको विधि र पद्धतीको रक्षा हुन्छ।’ पार्टीभित्रका भजन मन्डलीले नेतृत्वलाई अलमलाएको उनको टिप्पणी छ। सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए।
उनले १३औं महाधिवेशनपछि कांग्रेस इतिहासको कमजोर अवस्था आइपुगेको बताए। अहिलेकै अवस्था कायम रहे राष्ट्रिय सभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै उनले त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताए।
विवाद मिलाउनुपर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए। केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाँधली गरेको उनको भनाइ थियो। उनले सदस्यता वितरणमा केही पुराना कांग्रेसीहरुलाई अन्याय समेत भएको बताए।
सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए। पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो।
आफूलाई विगतमा पनि चुनाव लड्छु भन्दा कसैले नपत्याएको तर पछि भोट गणना गर्दा क्षमता देखेको उनले स्मरण गराए। फरक प्रसंगमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे।