धनगढी- नेकपा एमालेले सुदूरपश्चिमका ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। सुदूरपश्चिमका ९ जिल्लाका ८८ तहका ७३४ वडामध्ये ५२२ वडामा वडा अधिवेशन सम्पन्न गरेको हो।
केही दिनअघि परेको बेमौसमी वर्षापछि आएको पहिरोले धेरै प्रभावित भएको बझाङमा भने अधिवेशन हुन सकेको छन।
१२ गते देशभरका सबै वडामा वडा अधिवेशन गर्ने भनिए पनि बाढी र पहिरोका कारण सुदूरपश्चिममा भने १५ गतेसम्म वडा अधिवेशन गरिने जनाइएको छ।
कैलालीका १३ स्थानीय तहका १२६ वडा मध्ये ११३ वडाका अधिवेशन भएको छ। बाढीबाट बढी प्रभावित टीकापुर नगरपालिकाकाको वडा नम्बर ८, ९ भजनी नगरपालिकाकाको वडा नम्बर १, ३, ६ र कैलारी गाउँपालिकाको वडा नम्बर १ को वडा अधिवेशन केही दिनपछि सारीएको छ।
कञ्चनपुरका ९२ वडामै वडा अधिवेशन भएको छ। डोटीको ५८ वडामा वडा अधिवेशन भएको छ। नौ स्थानीय तहका ६५ वडा रहेको डोटीको ५८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। ८ वडामा भने अधिवेशन हुन बाँकी रहेको जनाइएको छ।
डडेल्धुराका ७ स्थानीय तहका ५२ वडामध्ये ४३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले डडेल्धुराका संगठन विभाग प्रमुख प्रदीपकुमार पन्तले बताए। अधिवेशन हुन बाँकी ९ वडाको अधिवेशन आज (कात्तिक १४ गते) हुने उनले बताए।
दार्चुलाका ६१ मध्ये ५५ वडाको अधिवेशन भएको जनाइएको छ। अछामका ९१ मध्ये ६० वडामा अधिवेशन भएको छ। बाजुराका ६९ वडा र चार पालिकाको अधिवेशन भइसकेको छ।
बैतडीका १० स्थानीय तहका ८४ मध्ये ७८ वडामा वडा अधिवेशन भएको छ। बाँकीको आज अधिवेशन हुने जनाइएको छ।