काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेको बताएका छन्।
जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्त्वपूर्ण विधेयक अगाडि बढाइने बताए। उनले भने, ‘नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए। उनले भने, ‘नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौं। राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौं।’
उनले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए। दाहालले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको स्पष्ट पारे। उनले भने, ‘न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौं।’
अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौंभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताए। उनले बैठक बस्नेबित्तिक्कै गठबन्धनको धारणा आउने दाबी गरे। दाहालले अर्ली इलेक्सन नहुने दाबी गर्दै भने, ‘अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठनबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ।’