काठमाडौं– एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटलाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिएका छन्। उनले सिन्धुपाल्चोकका एमाले कार्यकर्तासँग आगामी निर्वाचनमा सापकोटालाई हराउन निर्देशन दिए।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउनुपर्छ।’ सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको आरोपसमेत ओलीले लगाए।
अध्यक्ष ओलीले एमालेविरुद्धको षडयन्त्र सामेल भएर सभामुख सापकोटाले आफ्नो पदीय भूमिका, गरिमालाई तिलाञ्जली दिएको दाबी गरे। ओलीले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै सभामुखप्रति आक्रोशसमेत व्यक्त गरे। ओलीले भने, ‘संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने। अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन्।’
‘महाधिवेशन आयोजना गर्ने क्षमता कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन गर्न नसक्ने हालतमा कांग्रेस बूढो र अशक्त भयो।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गरे। प्रचण्डले धक्का, छल्याङ भनेर आफैंलाई महाविपत्तितर्फ धकेल्दै लगेको अध्यक्ष ओलीको दावी छ।
अध्यक्ष ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गरे। उनले पाँच वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रुपमा उभ्याएको बताए। उनले कांग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबीसमेत गरे। उनले भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन गर्न नसक्ने हालतमा कांग्रेस बूढो र अशक्त भयो।’
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाँडाकुँडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरेका छन्। घरबाटै लगेको भाडामा खानेकुरा बनाएर खाएको ओलीको स्पष्टीकरण थियो।
अध्यक्ष ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको दाबीसमेत गरे। उनले माधव नेपाललाई पार्टीभित्रै राख्नका लागि १० बुँदे सहमति गरेको भनाइ पनि राखे।