काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलेभन्दा सङ्गीतले मानिसलाई जागरण बढाउन सजिलो हुने बताएका छन्।
मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले आयोजना गरेको शार्दुल अङ्क–४ र गीति एल्बम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कुराले भन्दा सङ्गीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताएका हुन्।
'सङ्गीतमा समाज र मानिसलाई बदल्ने शक्ति रहेको छ,' उनले भने, 'गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सक्दछौँ।' जीवन र मानिसका लागि समस्यालाई छुने गीत गाउनुपर्ने उहाँको भनाइ थियो, 'ऐना र तस्वीर मात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ। जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ।'
विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा उनको जोड छ। समृद्ध नेपाल र सुखी नेपालीको भाव झल्किने खालका जागरणका गीत हुनुपर्ने समेत बताए। ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरेका थिए।
'अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ। मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ,' उनले भने। पूर्वजले छन्द, कलाकारिताका रङ, सङ्गीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको उनको भनाइ छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको बताएका थिए। गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले स्वर दिएका छन्। गीतकार श्याम टमोटले २०० गीतबाट १० वटा गीति एल्बममा समावेश गरिएको जानकारी दिए। कार्यक्रममा गीतका स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो।