विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल केपी ओली नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। कम्युनिस्टभित्र सक्कली कि नक्कली चिन्नुपर्ने उनको भनाइ छ। ‘ओली नक्कली कम्युनिस्ट हुन्,’ नेता नेपालले भने।
नेकपा एकीकृत समाजवादी मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। ०४७ सालमा नेकपा एमाले आफुहरुले बनाएको उनले बताए। ‘ओलीले एमाले बनाएका हैनन्। ओलीको गफले अब पार्टी चल्दैन। पुराना कम्युनिस्ट नेताहरु समाजवादीमा छन्,' उनले भने, ‘सूर्यमा ग्रहण लाग्यो, समाजवादी अब चम्कियो।’ आफूहरु नेतृत्वको पार्टीले पुष्पलालको उत्तराधिकारीका रुपमा भूमिका खेल्ने उनले बताए।
कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाइने अध्यक्ष नेपालले बताए। नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय रहेको उनले बताए। ‘नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ, अरु देशमा सिद्धियो,’ उनले भने।
केपी ओलीको तानाशाह, निरंकुश शैलीका कारण आफुहरु विद्रोह गर्न बाध्य भएको अध्यक्ष नेपालले बताए,' उनले भने, ‘एमाले ओली गुटसँगको अन्तरविरोध नीतिसँग हो।’ घोडामा सवार ओलीलाई आफुहरुले भुईंमा पछारी दिएको उनले बताए। ओलीकै कारण एमाले टर्च बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने नेता नेपालको भनाइ छ।