विराटनगर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन चाँडै हुने बताएका छन्। आचार्यको बहिर्गमनपछि समाजवादी संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनले बताए।
विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन्। उनले वर्तमान गठबन्धन मजवुद रहेको दाबी गरे।
उनले भने,‘ काँचो धागोले गठबन्धन बनेको हैन।’ एमाले अध्यक्ष केपी ओलीले बनाएको गठबन्धन जस्तो नभएको अध्यक्ष नेपालले बताए।
‘ओलीले आफू नभए कुर्सी नै भाँचिदिने जस्तो गठबन्धन हैन,’ उनले भने। ओलीको सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उनको आरोप छ।
समाजवादीका अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको बताए।
यस विषयमा कुनै छलफल हुन नपाएको उनले बताए। नेता नेपाल नेकपा एकीकृत समाजवादी मोरङले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन विराटनगर आएका हुन्।