विराटनगर– प्रदेश १ सरकारले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णयको स्वास्थ्यकर्मीले विरोध गरेका छन्।
सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र थप प्रभावकारी बनाउन, सार्वजनिक सेवाको लागतलाई न्यूनीकरण गर्न एवं समान प्रकृतिका कार्यसम्पादन गर्ने निकायलाई एकीकृत संगठन संरचना तयार गरी एकद्वार प्रणालीबाट सेवा प्रवाहको व्यवस्था मिलाउने गरी प्रदेश सरकारले एकीकृत सेवा कार्यालयहरू स्थापना गर्ने सम्बन्धी अध्ययन कार्यदल गठन गरेको थियो।
कार्यदलको प्रतिवेदनलाई कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिने र प्रदेश मन्त्रालयहरूले कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने भनी निर्णय गरेको छ।
प्रदेश सरकार २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १४६ कार्यान्वयनका लागि कार्यअघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेशका सबै मन्त्रालयहरूमा प्रेषित पत्रमा उल्लेख छ।
अध्ययन प्रतिवेदनमा प्रदेशका १४ वटै जिल्लामा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी प्रदेश एकीकृत सेवा कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको छ। प्रदेश सरकार अन्तर्गत हाल जिल्ला स्तरमा रहेका कार्यालयहरू प्रदेश एकीकृत सेवा कार्यालयमा एकीकृत गरिने प्रतिवेदनमा उल्लेख छ।
प्रस्तावित व्यवस्था अनुसार जिल्लास्थित प्रदेश सरकारका कार्यालयहरूलाई एकीकृत गरी प्रदेश एकीकृत सेवा कार्यालय स्थापना गर्दा ती कार्यालयको कार्यबोझमा कुनै थपघट हुने छैन। तर, कतिपय डिभिजन कार्यालयहरूले हाल एक भन्दा बढी जिल्लाको कार्यक्षेत्रको जिम्मेवारी बहन गर्नुपरेकोमा एकीकृत सेवा कार्यालय शाखाहरूले एक–एक जिल्लाको मात्रै जिम्मेवारी बहन गर्नुपर्ने हुँदा जिल्लास्थिति एकीकृत सेवा कार्यालयहरूको संवन्धित शाखाहरूको कार्यवोझ यथार्थमा केही कमी देखिने प्रतिवेदनमा उल्लेख छ।
एकीकृत सेवा कार्यालय स्थापना गरिए सबै जिल्लाको सेवा प्रवाहमा एक रूपमा आउने र प्रभावकारिताको साथै सेवाग्राहीको सुविधामा सुधार हुन सक्ने प्रतिवेदनको निष्कर्ष छ।
स्वास्थ्यकर्मीको विरोध
प्रदेश १ मा छुट्टै स्वास्थ्य मन्त्रालय हुनुपर्ने बताउँदै आएका स्वास्थ्यकर्मीले भने सरकारले सञ्चालन गर्न लागेको एकीकृत सेवा कार्यालयको विरोध जनाएका छन्। स्वास्थ्य सेवाको परिकल्पनाभन्दा बाहिर गएर संगठन संरचना परिवर्तन गरेको उनीहरूले बताएका हुन्।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले एकीकृत सेवा कार्यालयका सम्बन्धमा सामाजिक सञ्जालमा ‘कमजोर सरकारले आफ्नो घर पनि बनाउँदै बनाएको पनि बिगार्छ ’ भनी टिप्पणी गरेका छन्। स्वास्थ्यकर्मीले छुट्टै मन्त्रालय हुनुपर्ने भनिरहेका बेला छुट्टै स्वास्थ्य कार्यालय पनि स्वाहा भएको डा. बालकृष्ण साहले बताए।
नयाँ संरचनामा केही जिल्लामा स्वास्थ्यका कार्यालय नै नहुने तथा केही जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी प्रमुख समेत बन्न नपाउने गरी बनाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।