काठमाडौं– खेलकुदतर्फ दक्ष जनशक्ति उत्पादनसँगै युवालाई आकर्षण गर्ने उद्देश्यले नेपालमा खेलकुद व्यवस्थापन अध्यापन सुरु गरिएको छ। गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापनको औपचारिक अध्यापन थालेको हो। गण्डकी प्रदेशको राजधानी पोखरामा खेलकुद विषय अध्यापनसँगै खेलकुदतर्फका जनशक्ति उत्पादनमा प्रदेश सरकारले चासो देखाएपछि विश्वविद्यालयले औपचारिक अध्यापन सुरु गरेको हो।
गण्डकी विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक तहमा चारवर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बीएसएम) को विषय अध्यापन गर्न थालेको छ। ५० जना विद्यार्थीका लागि सिट संख्या निर्धारण गरे पनि २० जना विद्यार्थी मात्र भर्ना गरिएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले यस वर्ष ५० सिटका कक्षा १२ को नतिजा प्रकाशन गरेसँगै आवेदन फाराम खुलाउनेछ। विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमअन्तर्गत खेलकुद व्यवस्थापन विषयलाई अघि बढाएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नवराज देवकोटाले जानकारी दिए।
उनले भने, ‘बीएसएमसहित विश्वविद्यालयले ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) को पनि अध्यापन सुरु गरेको छ। यो विषय अध्ययनपछि स्वदेश तथा विदेशमा विद्यार्थीले रोजगारीको अवसर पाउन सक्छन्।’ विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक विषयको जानकारी दिएर रोजगारीलाई खेलकुदमा जोड्दै अघि बढाउने उपकुलपति देवकोटाको भनाइ छ।
उनका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छन्। विद्यार्थीले १५६ क्रेडिट आवरभित्र ५२ वटा विषय अध्ययन गर्न पाउँछन्। पाठ्यक्रममा १० देखि १२ वटा खेलका विषयसँगै व्यवस्थापनतर्फका सैद्धान्तिक विषय पनि समावेश गरिएको छ।
आठ सेमेस्टरमा अध्यापन हुने यस विषयमा क्रिकेट, भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, आर्चरी, छेलो र स्विमिङ जस्ता खेलकुद समावेश छन्।
आठ सेमेस्टरमा अध्यापन हुने यस विषयमा क्रिकेट, भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, आर्चरी, छेलो र स्विमिङ जस्ता खेलकुद समावेश छन्।
यसैगरी खेलकुद व्यवस्थापनतर्फका खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, फन्डिङ इन स्पोर्ट्स, स्पोर्ट्स टुरिजम, स्पोर्ट्स इन ग्लोबलाइजेसन, स्पोर्ट्स इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज, एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन लगायतका विषय पाठ्यक्रममा समावेश छ।
खेलाडी उत्पादन गर्ने भन्दा पनि खेलकुद क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरुवात गरिएको यो विषय अध्ययन गर्ने विद्यार्थीले स्वदेश तथा विदेशमा रोजगारीको अवसर पाउने विषयमा विश्वविद्यालयका पदाधिकारी विश्वस्त छन्।
अध्ययनपछि अवसर
विद्यार्थीले यो विषय अध्ययनपछि स्वदेश तथा विदेशका विभिन्न खेदकुद व्यवस्थापन गर्ने संस्थामा रोजगारीको अवसर पाउन सक्छन्। विद्यार्थीले खेलाडी वा प्रशिक्षकका रुपमा रोजागारीको अवसर पाउनुका साथै शिक्षण संस्थामा खेलकुद शिक्षक, सरकारी सेवामा जागिर, स्वदेश तथा विदेशका सुरक्षा निकायमा रोजगारीको अवसर पाउन सक्छन्। यसका साथै विद्यार्थीले कोरियन विश्वविद्यालयमा इन्ट्रनर्सिप गर्न पाउँछन्। उच्च शिक्षाका लागि मास्टर्स, पीएचडी गर्न सक्छन्। विद्यार्थीले एमए, एमबीए र एमएसएम जस्ता स्नातकोत्तर तहका विषय अध्ययन गर्न सक्छन्।
स्नातक तहमा खेलकुद विषयको अध्यापन एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान आर्जन गर्ने विषय हो।
लागत खर्च र छात्रवृत्ति
स्नातक तहमा चारवर्षे खेलकुद व्यवस्थापन अध्ययनका लागि ८ सेमेस्टरमा विद्यार्थीले ३ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसभित्र भर्ना शुल्क ३५ हजार, डिपोजिट ८ हजार, प्रत्येक सेमेस्टरमा सेमेस्टर शुल्क ४० हजार, परीक्षा शुल्क र रजिस्ट्रेसन शुल्क समावेश गरिएको हुन्छ। विद्यार्थीले किस्ताकिस्तामा यो शुल्क तिर्न सक्छन्।
विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ। छात्रवृत्तिमा प्रवेश परीक्षा सर्वोत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ भने प्रत्येक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले सेमेस्टर वेस्ड छात्रवृत्ति प्राप्त गर्न सक्छन्।