काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन्।
शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन्।
उनले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए। अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताए। अध्यक्ष दाहालले शोक छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए। उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गरे।
अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए। समाज र देश विकासको लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको बताउँदै अध्यक्ष दाहालले भने, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो। संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यका साथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो। कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्य राखिएको थियो। त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरुमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो।’
अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रश्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए।