काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटवार्तामा विद्यालय शैक्षिक एवं प्राविधिक शिक्षा सुधारको विषयमा छलफल भएको हो।
भेटवार्ताको क्रममा मन्त्री पौडेलले द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएकोले युरोपियन युनियनबाट नेपालमा विकासका विविध क्षेत्रमा निरन्तर सहयोग हुँदै आएको बताए।
उनले भने , ‘संवैधानिक र कानुनी प्रबन्ध, नेपाल पक्ष भई गरिएका सन्धि, सम्झौता, प्रतिबद्धता र तर्जुमा भएका योजनाका लक्ष्य प्राप्तिका लागि संघीयताको मर्म अनुरूप अघि बढ्ने छौं। नयाँ शिक्षा कानुन निर्माण र विद्यमान संस्थागत पुनःसंरचनाका कार्यमा मन्त्रालय लागि परेको छ।’
कर्णाली तथा सुदूरपश्चिमका विद्यालयहरू अवलोकन गरेको बताउँदै राजदूतले शिक्षामन्त्रालयले विद्यालयको भौतिक एवं शैक्षिक सुधारमा ध्यान दिनुपर्ने बताइन्। युरोपियन युनियनले नेपालको शिक्षा क्षेत्रमा वर्षेनी सहयोग गर्दै आइरहेको छ।
वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा विकास गरी साझेदारसँग सहकार्य गरी अघि बढ्न चाहेको मन्त्री पौडेलको भनाइ थियो। ‘शिक्षामा समता र समावेशितासहितको अनिवार्य तथा निःशुल्क शिक्षाको पहुँच, गुणस्तर सुनिश्चित प्रदान, प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गर्नमा युरोपियन युनियन सरकारलाई थप सहयोग गर्न आग्रह गर्दछु’ मन्त्री पौडेलले भने।
राजदूत नोना डिप्रेजले शैक्षिक एवं प्राविधिक शिक्षा सुधारमा आफूहरूले थप काम गर्न चाहेको बताएकी थिइन्।
शिक्षा क्षेत्रसँगै खाद्यान्न सहयोगका लागि नेपालसँग सहकार्य गर्न आफूहरू लालायित भएको उनको भनाइ छ। ‘महत्त्वपूर्ण कुरा शिक्षामा समावेशिता र समता हुनुपर्छ,’ विद्यार्थी विद्यालय बाहिर रहँदा देशलाई घाटा हुन्छ ’ उनले भनिन्।