काठमाडौं- नेकपा एमाले दसौँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुंगो लागेको छ। महाधिवेशनमा १ हजार ५३६ प्रतिनिधि सहभागी हुने गरी बिहीबारको स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो ।
पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट १५ सय पार्टी सदस्यबाट ३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसमध्ये कम्तीमा एक जना महिला हुनेछन्। यसभन्दा बढी १ हजार पार्टी सदस्यबाट १ जना प्रतिनिधि थप हुने गरी बैठकले टुंगो लगाएको छ।
यसरी भूगोलबाट १ हजार १९६ जना प्रतिनिधि हुनेछन् भने केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
यस्तै हरेक जिल्लाबाट कम्तीमा एक जना दलित, हरेक प्रदेशबाट कम्तीमा एक जना मजदुर समेत प्रतिनिधि बनाइनेछ। हरेक जनवर्गीय संगठनबाट ५/५ जना प्रतिनिधि ल्याइनेछ।