काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले न्यायपालिकामा गम्भीर रोग देखिएकोले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताए। उनले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको बताउँदै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गरेका छन्। उनले न्यायपालिकाबाटै समस्या सिर्जना भएकोले त्यसको निरुपण पनि न्यायालयभित्र बाटै हुनुपर्ने बताएएका छन्।
अध्यक्ष भट्टराईले भने, ‘पहिलो कुरा यति ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट जुन संविधान बनायौँ, त्यसक्रममा राज्यका स्थायी अंग हुन्छन्, न्यायालय, सुरक्षाअंग, तिनीहरुमा पर्याप्त रुपान्तरण र परिवर्तन गर्न सकेनौँ, त्यो कारणले न्यायाधीशको नियुक्तिदेखि लिएर सबै प्रक्रिया त्रुटिपूर्ण छन्, भागबण्डामा चल्छन्, त्यसले न्यायालयको प्रतिष्ठा पहिल्यैदेखि आघात पर्दै आएको थियो। अहिले भित्रैबाट विवाद आउनु लोकतन्त्रको शोभनीय होइन, गम्भीर अनिष्टको संकेत हो।’
अध्यक्ष भट्टराईले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने प्रयास मात्रै भएको बताएका छन्।