शुक्रबार, भदौ ५, २०८३

को हुन् बागमतीका मुख्यमन्त्री पाण्डे?

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए। उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

हेटौँडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेशसभाको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन्।

पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउँछन्।

विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि उनले शिक्षण पेसा अंगालेका थिए।

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए। उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, २०५० मा एमालेको अञ्चल सचिव, २०५५ पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए। उनी राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल परेका थिए। सो क्रममा उनी पार्टीको जेल कमिटीको सदस्यसमेत बनेका थिए। उनी झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेका थिए। 

उनलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो। पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व गरेको अनुभव छ। 

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश प्रमुखले नयाँ सरकार गठका लागि आह्वान गरे लगतै बुधबार ५९ सांसदको समर्थनसहित पाण्डेले दाबी पेस गरेका थिए। 

बागमती प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ५५ मत आवश्यक पर्छ। नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थन उनलाई छ। 

यस्तै आजै पाण्डेले सानो आकारको मन्त्रिपरिषद् गठनसमेत गरेका छन्। कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बनेका छन्।

प्रकाशित: Oct 28, 2021| 16:33 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...