काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्ताव पारित भएको छ। विवेकशील साझाको केन्द्रीय समिति बैठकले मिश्रको प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो। बिहीबार बसेको बैठकले मिश्रको दस्तावेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’लाई अङ्गीकार गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।
‘स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्,’ पाठकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ। अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाई उत्पन्न भएको निष्कर्ष सहित बैठकले विधान संशोधन गरेको हो।
यस्तै बैठकले पार्टीलाई बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय गरेको पाठकले जनाएका छन्।
बैठकमा पार्टीका संयोजक मिलन पाण्डे नेतृत्वको समूह भने उपस्थित थिएनन्। मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने माग सहितको दस्ताबेज अघि सारेपछि पाण्डे समुह असन्तुष्ट रहँदै आएको छ।