काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
बिहीबार पार्टी कामको शिलशिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवदी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरु बीचमा कुनै छलफल नभएको बताएका हुन्।
उनले आफू निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरु पनि व्यस्त रहेका कारण पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गरे। अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि अनावश्यक लाञ्छना लगाउने काम गर्दै आएको आरोप लगाए। ओलीले रिस साँध्नका लागि सबै न्यायाधीसहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाएको उनले बताए। ओलीको हस्तक्षेपकारी भूमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उनको भनाइ छ। ओलीले नै सबैथोक बिगारेको उनले बताए।
अध्यक्ष नेपालले एकीकृत समाजवादीले चुनावमा अरु पार्टीसँग गठबन्धन गर्ने पनि बताए। वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उनले बताए। अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श शुरु गर्ने पनि उनले उल्लेख गरे। अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गरे।