काठमाडौं- मुलुकको २८ वर्षे इतिहास मै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको फुटबल टोलीमध्ये १० खेलाडी आज काठमाडौँको एक सम्मान समारहेमा सरिक भए। बाँकी अन्य खेलाडी विदेशमा रहेकाले उनीहरू सहभागी हुन पाएनन्।
सम्मान थाप्नेमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, विशाल श्रेष्ठ, दिनेश राजवंशी, आशिष लामा, विशाल राई, नवयुग श्रेष्ठ, सुमन लामा, सुनिल बल र सन्तोष तामाङ थिए। उक्त खेबलाट नेपाललाई विजयी बनाउने खेलाडीको चाहना अधुरै रह्यो तर पनि नेपालको शान उँचो बनाए।
उक्त खेलमा सहभागी खेलाडी सुजल श्रेष्ठ शिल्ड भित्र्याउने चाहना कायमै रहेको बताउनुहुन्छ। आज राजधानीमा भएको सम्मान समारोहमा उनले भने, 'हामी उपविजेता होइन प्रथम भएर शिल्ड भित्र्याउन चहन्छौँ।' उनले त्यसका लागि साथ, सहयोग र हौसला दिन आम नेपालीलाई अनुरोध पनि गरे। गृहमन्त्री बालकृष्ण खाँणसामु उनले यस्ता सम्मानले नतिजा ल्याउन हौसला दिने उल्लेख गर्दै आम नेपालीबाट यस्तै मायाको निरन्तरताको अपेक्षा रहेको पनि सुनाए।
गतको असोज ३० मा माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा साफ च्याम्पियनसिपको फाइनल खेल भएको थियो। इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएर उपविजेतामै सीमित रह्यो।
नेपालले साफमा खेलेको चार खेलमध्ये दुई खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो। त्यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो। नेपालले लिग चरणको अन्तिम खेलमा बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल प्रवेश गरेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा भारतसँगको त्यो खेल हेर्दा नेपालले फुटबलमा धेरै लगानी गर्नुपर्ने देखिएको बताउछन्। यति हुँदाहुँदै पनि यसपालि नेपालले फुटबलको इतिहास लेखेको छ। समुद्रको टापुमा गएर खेलाडीले नेपालको शान र मान बढाउने काम गरेको उनी सुनाउछन्। नेपालको खेलकुदमा भएको लगानी र खेलको पूर्वाधार विकासमा अध्यक्ष शेर्पा सन्तुष्ट हुनुहुन्न। गृहमन्त्री खाणसामु शेर्पाले नै फुटबल क्षेत्रको विकासमा सरकारले ठूलो लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।
शेर्पाले सरकारको गराउँदै भने, 'फुटबलमा नेपाल पूर्वाधारमा धेरे कमजोर छ, काठमाडौंको रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नपुग्लाजस्तो भएर सुधार गरी खेल खेलाइयो, अन्तर्राष्ट्रिय खेललाई व्यवस्थित गर्न अन्तर्राष्ट्रिय खेल मैदान हुनु अति जरुरी छ, सरकारको ध्यान जार्नुपर्छ।' उनका अनुसार गोकर्णको ४०० रोपनी जग्गामा खेल मैदान बनाउने कोसिस भएको र ४५ हजार क्षमताको मैदान बनाउन एन्फाले नसक्ने छैन। उक्त मैदनको बजेट व्यवस्थापनका लागि आगामी वर्षको बजेटमा समावेश गर्न उहाँले सरकारसँग अनुरोध पनि गरे।
एन्फाका अनुसार ११० दिनसम्म नेपालले क्लोज क्याम्प राखेको थियो। आठवटा खेलमध्ये नेपाली टोलीले पाँच वटा खेल विदेशमा गएर खेल्नुपर्यो। नेपालको खेल मैदान अन्तर्राष्ट्रिय मापदण्ड नपुग्ला भनेर भुटानमा गएर खेल खेलाउनुपरेको दुःख शेर्पाले सुनाए। तीनवटा म्याच खेलाउने प्रयास गरे पनि एएफसी र फिफाले कुवेतमा सारेको उनी बताउछन्। होम गेम पनि नेपालमा खेलाउन सक्ने अवस्था नरहेको बताउँदै उनले त्यो खेल खेलाउन पाएको भए चार-पाँच करोड आम्दानी हुने र उक्त आम्दानी खेलाडीको वृत्ति विकासमा लगाउन सकिने उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय मैदान नेपालमा हुने हो भने नेपालमा पनि धेरै खेल खेलाउन सकिने छ। मैदान नहुँदा नेपाल त्यसबाट वञ्चित छ।
नेपालको महिला राष्ट्रिय टिम पनि कम छैन। पहिलो पटक ओलम्पिक क्वालिफाइडमा दोस्रो चरणमा प्रवेश गरेको छ। फिफा र्याङकिङमा नेपाल १०७ बाट माथि उठेर १०१ मा पुगेको छ। नेपाली महिला फुटबल व्यवस्थित हुँदै गएको देखिन्छ।
एन्फाका अनुसार गाउँगाउँमा फुटबल सुरु गरिएको छ। युवा फुटबल गेम र स्कुल लिगहरु सञ्चालन गर्न थालेको तथा एकाडेमी सञ्चालन भएको छ। विभिन्न संस्थालाई एकेडेमी सञ्चालन गर्न अनुमति दिएको एन्फाले जनाएको छ। केन्द्रीयस्तरमा दुई वटा अन्तर्राष्ट्रिय खेल मैदान र प्रदशेमा खेल मैदान बनाए नेपाल खेलकुदको विकासमा फड्को मार्ने शेर्पाको बुझाइ छ।
नेपालको फुटबल लिग लामो समयसम्म खेलाउन नसकिएको भन्दै प्रश्न उठ्ने गरेको छ। त्यस विषयमा अध्यक्ष शेर्पा आर्थिक कुरा नै जोडिएको बताउछन्। उनले लिग लामो समय खेलाउन सकिने तर त्यसका लागि धेरै कुरा सुधारको खाँचो हुने औँल्याए।
माल्दिभ्सको उदाहरण दिँदै शर्पाले भने, 'त्यहाँ १० वटा ए डिभिजन क्लब रहेको र सरकारले प्रत्येक वर्ष हरेक क्लबलाई तीन करोड अनुदान दिने गरेकोछ, तालिम ग्राउण्ड दिएको छ, उनीहरूमा हरेक महिनानै फुटबल खेल्ने काम हुन्छ, बाहै्र महिना खेलाडीलाई तलब दिने व्यवस्था हुन्छ, त्यस्तो अभ्यासको खाँचो छ।' अध्यक्ष शेर्पा नेपालले महिला र पुरुष लिगलाई व्यवस्थित गर्न कम्तीमा रु १२ करोड विनियोजन गर्नुपर्ने बताएका छन्।
'यसले आठ महिना खेल खेलाउन सक्छौं भनेर बजेटको प्रस्ताव पनि गरेका हौँ, सरकारले रु चार करोड विनियोजन गरेको छ, १२ करोड भए लामो समयसम्म खेल खेलाउन सक्ने र खेलाडीलाई १२ महिना नै रोजगार दिन सकिने छ,' उनले भने, 'यसले समग्र खेलकुदको विकास हुन्छ।' - रासस