काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन मंसिरमै हुने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारीको बैठकमा निर्वाचन समितिलाई बोलाएर उनले मंसिरमै महाधिवेशन गराउन निर्देशन पनि दिएका छन्। प्रधानमन्त्री समेत रहेका देउवाले पदाधिकारी बैठकमा निर्वाचन समितिका पदाधिकारीहरु बोलाएर महाधिवेशनका बारेमा छलफल गरेका थिए।
देउवाले मंसिरमै महाधिवेशन गर्न सम्भव रहेकाले त्यही अनुसार तयारी गर्न निर्देशन दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। ‘मंसिरमा महाविधेशन हुने र जसरी पनि महाधिवेशन सक्नुस् भनेर सभापतिजीले निर्वाचन समितिलाई भन्नुभयो,’ बैठकपछि वरिष्ठ नेता पौडेलले भने। पौडलले भने तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्।
‘मंसिर ९ देखि १३ गतेका लागि महाधिवेशनको मिति तोकिएको छ। कार्यसमितिले एकपल्ट त्यसलाई हेर्नुपर्छ। महाधिवेशन तयारी समिति पनि बनाउनुपर्ने छ,’ उनले भने, ‘महाधिवेशनको तयारीका लागि उपसमितिहरु बनाउनुपर्ने छ। सोही कारण बैठकको माग गरेँ।’ बैठकले निर्वाचन समितिलाई यथासिघ्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।