शनिबार, चैत ७, २०८२

कपिलवस्तुमा झाडापखाला फैलिनुको मुख्य कारण स्वास्थ्यप्रति चासो नहुनु

स्थानीय, प्रदेश र संघ सबै तहले स्थानीयलाई परामर्श दिने, उपचार गर्ने, सरसफाइका लागि पहल गर्ने, पानीको पाइपको व्यवस्थापनमा जोड दिने लगायतका काम भएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

डा. शशि कँडेल

डा. शशि कँडेल

बुधबार, कात्तिक १०, २०७८

गत असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा. नं ७, ८ र ९ का बासिन्दामा झाडापखाला देखिन थाल्यो। झाडापखाला सुरु भएको चौथो दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलाजी तथा रोग नियन्त्रण महशाखा र विश्व स्वास्थ्य संगठनको तीन जनाको टोली कृष्णनगरतर्फ लाग्यो। सो टोलीमा म पनि सहभागी थिएँ। प्रकोपको सम्भावित स्रोत पत्ता लगाई झाडापखाला नियन्त्रण गर्नुपर्ने हाम्रो प्रमुख दायित्व थियो।

National life

हामी त्यहाँ पुग्दा झाडापखालाका बिरामीले अस्पताल भरिभराउ थिए। सयौं बिरामी छट्पटाइरहेका थिए भने चारजनाको मृत्यु भइसकेको थियो।

कृष्णनगरको झाडापलाखाको कारण हालसम्म ११ सय २९ जना संक्रमित भइसकेका छन्। संक्रमितलाई स्थानीय शिवराज अस्पताल, कपिलवस्तु जिल्ला अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो।

यसका साथै आवश्यक औषधि र स्वास्थ्य सामग्री स्थानीय सरकार, प्रदेश, संघ र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संस्थाको समन्वयमा व्यवस्थापन गरिएको थियो।

नमुना लिइएको पानीको १५ वटा नमुनामध्ये १० वटा नमुना खानेपानीको धारामा आउने पानीको नमुना थिए। अन्य पाँच नमुना खानेपानीका लागि उपयोग हुने विभिन्न ह्यान्डपम्पबाट लिइएको थियो।

हाम्रो टोलीले त्यहाँ झाडापखाला फैलनुको कारण पत्ता लगाउन वडा नम्बर ७, ८ र ९ को पानीको मुहानको नमुना जाँच गर्यो। साथै झाडापखालाबाट ग्रसित बिरामीमा समुदाय र अस्पतालमा आएका बिरामीको कुल २१ वटा दिसाको नमुना जाँच गर्न लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो।

Laxmi sunrise bank
kumari

नमुना लिइएको पानीको १५ वटा नमुनामध्ये १० वटा नमुना खानेपानीको धारामा आउने पानीको नमुना थिए। अन्य पाँच नमुना खानेपानीका लागि उपयोग हुने विभिन्न ह्यान्डपम्पबाट लिइएको थियो।

पिउने पानीको १० वटा नमुनामध्ये पाँचवटा नमुनामा दिसामा हुने जीवाणु (इकोलाई) अत्यधिक मात्रामा भेटियो। त्यसका साथै ह्यान्डपम्पबाट लिएको पाँचवटा नमुनामध्ये चारवटामा इकोलाई प्रशस्त भेटिएको थियो।

त्यस्तै कुल २१ वटा दिसाको नमुनामध्ये ४ जना बिरामीको नमुनामा हैजामा हुने जीवाणु भिब्रियोकोलेरा (ओ वान ओगावा ब्याक्टेरिया) भेटिएको थियो। त्यसैले यो प्रकोप हैजाको कारणले भएको पुष्टि भयो। हामीले सोहीअनुसार उपचार ग¥यौं।

झाडापखाला तथा बान्ताका कारण मृत्यु भएकामध्ये ४५ वर्षीय एक पुरुषको घरैमा मृत्यु भएको थियो भने सात वर्षीया बालिकाको निजी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो। पाँच वर्षीय र दुई वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा जलवियोजनका कारण मृत्यु भएको पुष्टि भएको छ। यद्यपि हाल भने प्रकोप नियन्त्रणमा छ।

हामीले के पायौं भने स्थानीय समुदाय स्वास्थ्यप्रति गम्भीर नहुँदा यो समस्या निम्तिएको रहेछ। मानिसहरु घरमा भएको शौचालयमा नगई खुला क्षेत्रमा दिसापिसाब गर्ने गरिरहेका छन्।

कृष्णनगर नगरपालिका क्षेत्रमा खुला ठाउँमा दिसापिसाब गर्ने गरिएको, फोहरमैला तथा ढलको उचित व्यवस्थापन पनि नभएको देखियो। पानीका पाइपहरु फुटेका थिए। सोही कारण घातक कीटाणु पानीको पाइपमा प्रवेश गर्ने र सोही पाइपबाट आएको पानीले मानिसलाई झाडापखाला भएको थियो।

अर्को कुरा मानिसले पानी शुद्धीकरण विधि नै अपनाएका थिएनन्।  पानी नउमालीकन पिउने वा शुद्धीकरण नगरी पिउने, स्वस्थ व्यवहार नअपनाइएको जस्ता कारणले यो रोगको प्रकोप निम्त्याएको देखिन्छ।

स्थानीय, प्रदेश र संघ सबै तहले स्थानीयलाई परामर्श दिने, उपचार गर्ने, सरसफाइका लागि पहल गर्ने, पानीको पाइपको व्यवस्थापनमा जोड दिने लगायतका काम भएका छन्।

हाल २६ जना बिरामी उपचाररत छन्। तर जोखिम घटेको छैन। त्यसैले यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ।

हैजा भएको अवस्थामा शरीरभित्रको पानी केही घण्टाभित्रै अत्यधिक मात्रामा खेर जाने र जलवियोजन भएर मानिसको मृत्यु हुन्छ। यस्तो अवस्थामा जीवनजल खानु एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसैले झाडापखाला भएमा एक लिटर उमालेर सेलाएको वा शुद्धीकरण गरेर राखिएको पानीमा जीवनजल पटकपटक खाइरहनुपर्छ।

(डा. कँडेल  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा संलग्न थिए।)

प्रकाशित: Oct 27, 2021| 06:20 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्