काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको फैसला गर्ने प्रधानन्यायाधीश र चार जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्।
संसद् पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने संवैधानिक इजलासका सबैले राजीनामा दिनुपर्ने ओलीको तर्क छ।
पार्टीको पालिका अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै उनले पाँच जनाले परमादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने बताए। न्याय प्रणाली स्वच्छ र निष्पक्ष हुनुपर्नेमा उनले जोड दिए। राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने भन्दै उनले सभामुख अग्नि सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाए।
अहिलेको सरकारलाई ओलीले पञ्चरंगीको संज्ञा दिए। उनले पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन भएको टिप्पणी गरे। एमाले देशको प्रमुख पार्टी रहेकाले राष्ट्र निर्माणको अभिभारा उसैको काँधमा रहेको उनले बताए।